चितवन, कात्तिक ३० । पहिले पहिलै महिनौं लगाएर थन्काइने धानबाली आजकल केही दिनमा नै थन्काइन्छ। उतिबेला अर्मपर्म (आलाेपालाे) गरेर थन्काइन्थ्यो। धान काट्नु पर्थ्याे, निन सुकेपछि उठाएर मुठा बाँधिन्थ्यो। खलो बनाउनु पर्थ्याे। लिपपोत गरी धानको कुनियो बनाइन्थ्यो। त्यसपछि चुट्ने अनि बताउने। र, धानको रासलाई बल्ल भकारीमा थन्काइन्थ्याे। गोरु लगाएर परालको दाइँ गरिन्थ्यो। अचेल किसानले गोरु पाल्नै छाडिसके। दाइँ लगाउने चलन पनि हराइसक्यो। कति दिनसम्म खलोमै काम हुन्थ्यो। साथै केही पराल छाँटेर गुन्द्री बुन्ने चलन पनि थियो।

आजकल गाँउघरमा काम गर्न मान्छे नै पाइँदैन। स्थानीय खेतालाको अभावले गर्दा मधेशतिरबाट आएका कामदारले ठेक्कामा काम गर्ने गर्छन्। सर्लाही मलंगवाबाट आएका ठेकदार सुखाराम साह भन्छन्, ‘हामी दसजना छौँ, प्रतिबिघाको १२ हजार रुपैयाँ दरले काटेका छौं।’ काम पाए त छठ पर्वमा पनि घर नजाने साेचमा छन् सुखाराम। समय परिवर्तनसँगै आधुनिक उपकरण प्रयोग हुन थालेको छ। केही ठाँउमा धान काट्ने यन्त्र उपकरणको प्रयोग भएको पाइन्छ। केही वर्षयता धान झार्नकै लागि थ्रेसर लगाउन थालिएको छ। कृषिमा भित्रिएकाे आधुनिक उपकरणले किसानलाई काम गर्न थप सजिलो बनाएको छ। श्रम,पैसा र समयको बचत भएको छ। बिहान ३ बजे देखि राति १२ बजेसम्म पनि थ्रेसर लगाउनमै व्यस्त हुनुपरेकाे अनुभव सुनाउँछन् किसान सूर्य महतो। ‘प्रतिघण्टा एक हजार ३८० रुपैयाँ लाग्छ,’ उनले भने।

याेवर्ष धानखेती राम्राे हुन नसकेका कारण फसल कम लागेकाेमा किसान चिन्तित छन्। जसले गर्दा लगानी उठाउन पनि मुस्किल पर्ने बताउँछन्, अर्का किसान शेरबहादुर रामदाम। धान थन्काएसँगै किसानलाई हिउँदेबाली लगाउने हतारो छ। ‘असारमा नाङ्गो र मङसिरको भोक कसैले देख्देन’ रे भन्ने उखान पनि नेपाली समाजमा यथावत छ। तर, पछिल्ला पुस्ताले पूर्ख्याैली पेसा कृषिमा खासै चासाे भएकाे पाइँदैन। अधिकांश युवाहरु विदेशिएका छन्। कतिले खेती गर्न पनि जान्दैनन्। उहिलेको कुरा हो। केही नजानेकी बुहारीलाई खेत गोड्न पठाइछिन् सासूले। गोड्न नआएपछि दुवै भाइ मुनीमुनी जाइ, छत्रे छाइ माथिमाथि जाइ, सामा धानको मामा मरतो के गरेतो भनेर आइच। केही महिनामा धान पाक्यो। फेरी सासुले धान काटन पठाइन्। धान त ढलेको रहेछ कसरी काट्ने भन्ने नै थाहै भएन। घर फर्कैर सासूलाई भनेपछि सासुले फ्यातलो (खोले) पकाएर केराको पातमा खान दिइछन्। बुहारी जताजता बग्छ उतैबाट सोहाेर्दै खाइछिन्। अनि सासूले भनिछिन् धान पनि यसरी नै काट्ने हो। र बुहारी धान काटने गएथिन् रे।

तर समय त्यतिबेलाकाे र अहिलेकाेमा आकास जमिन फरक छ। अहिलेकाे खेतीप्रणालीमा आधुनिक प्रविधि भित्रिँदा सबै किसानलाई सजिलाे बनाएकाे छ। खेत जाेत्नेदेखि राेप्ने र धान काट्नेसम्मका सबै गतिविधि मेसिनबाटै हुने भएपछि जनशक्तिमा बढी लगानी गर्नु परेकाे छैन। त्यसैले तिहारकाे मेसाेमा पनि चितवनका किसान थ्रेसर लगाएर धान काट्ने र थन्क्याउने काममा व्यस्त छन्।


























