काठमाडौं, कार्तिक २८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शुक्रबार) अपरान्ह चार बजेका लागि बोलाइएको छ। लामो समयको रस्साकस्सी पछि पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विष्णु पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएकोमा बैठक आज बस्न लागेको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाउन अध्यक्षद्वय सहमत भएपछि महासचिव विष्णु पौडेलले आजका लागि बैठक आह्वान गरेका हुन्।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित पाँच सचिवालय सदस्यले कात्तिक २३ गते लिखित रूपमै र गत मंगलबार पनि तत्काल सचिवालय बैठक बोलाउन माग गरेका थिए। तर ओलीले एजेण्डाबिनाको बैठकको तुक नभएको भन्दै बैठक बस्न आनाकानी गरेका थिए। त्यसपछि २५ कात्तिकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई भेटेरै बैठकका लागि पुनः आग्रह गर्दा समेत ओलीले ठाडै अस्वीकार गरेका थिए। आजको वैठकमा ओली र प्रचण्ड – नेपाल समूह एकअर्काविरुद्ध खरो उत्रने रणनीतिमा रहेको स्रोतले जानकारी दिएको छ।
प्रचण्ड पक्ष आजको बैठकमा स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन, कर्णालीको पार्टी विवाद, भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्रीको भेट, राजदूत नियुक्ती लगायतको विषय बैठकमा ल्याउने सोचमा छ भने ओली पक्ष सकभर विषयलाई समझदारीका साथ टुंग्याउने रणनीतिमा छ। त्यसैले बैठकको पूर्वसन्ध्यासम्म दुवै पक्षका नेता सचिवालयमा बहुमत कायम गर्ने रणनीतिका साथ आन्तरिक तयारीमा जुटेको स्रोतले बताएको छ। ओली र प्रचण्ड दुबैले आफूनिकटका नेतासँग छलफल गरेका छन्। दुई अध्यक्षबीचको लामो रस्साकस्सीपछि आज बस्न लागेको बैठकलाई निकै अर्थपूर्ण तरीकाले हेरिएको छ।


























