बैतडी, कार्तिक २८ । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार मृतकहरुको सनाखत हुन बाँकी छ।
मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन्। दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ। बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रनाउ अधिकारीले जानकारी दिए। मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले आज दिउँसो निकालिने प्रहरीले बताएको छ।
प्रहरी र स्थानीयवासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो। दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ। बस बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ।

























