काठमाडौं, कार्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौंको पुनःनिर्मित रानीपोखरी उद्घाटन गरेकी छन्। विक्रम सम्बत् २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूका कारण नष्त बनेको रानी पोखरीको पूनःनिर्माण सम्पन्न भएसँगै आज राष्ट्रपति भण्डारीले रानीपोखरी उद्घाटन गर्नु गरेकीहुन्।
आजभन्दा करीब तीनसय बर्षअघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको यस रानीपोखरीको आफ्नै ऐतिहासिक, साँस्कृतिक र पर्यावरणीय महत्व रहेको राष्ट्रपति भण्डारीले बताइन्। आफ्ना दिदी बहिनी नहुने दाजुभाइहरूले तिहारमा भाइटीका लगाउने महत्वपूर्ण तीर्थस्थलका रूपमा पनि रानी पोखरीको महत्व विशेष छ। बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रताप मल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण भएको हो।
आजको यस क्षणमा २०७२ साल माघ २ गते रानीपोखरी पुनर्निर्माणको थालनी गर्दै मुलुकभर पुनर्निर्माण महाअभियान सुरू गरिएको थियो। राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षतविक्षत भएका साँस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनर्निर्माण गर्ने अठोट र प्रण पूरा हुन लागेकाले आफूलाई खुसी लागेको उनले बताइन्। भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाहरूको पुनर्निर्माण पनि योजनावद्ध रूपमा छिट्टै सम्पन्न हुने राष्ट्रपति भण्डारीले बताइन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरले पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको उनको दावी छ।
प्राकृतिक एवं साँस्कृतिक सम्पदाले समृद्ध र प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाण्डौँ उपत्यकाको संरक्षण र विकासका निम्ति पूननिर्माण कार्य महत्वपूर्ण कोशेढुङ्गा सावित हुने पनि राष्ट्रपति भण्डारीले बताइन्।
प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडीखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी वृहत्तर गुरूयोजना तयार पारेको छ। सम्बद्ध सबै सरोकारवाला पक्षसँग समन्वय गरी उक्त गुरूयोजनालाई कार्यान्वयनमा लैजानका निम्ति काम भइरहेको प्राधिकरणले जनाएको छ।


























