काठमाडौं, कार्तिक ५ । भूकम्पले भत्किएको ऐतिहासिक रानीपोखरी पुनर्जीवित भएको छ। भूकम्पले भत्काएको पाँच वर्षपछि पूर्ववत अवस्थामा पुगेको रानीपोखरी झकिझकाउ भएको छ। रंगरोगन, बत्ती जडान गरेर सिंगार पटार गरिएको रानीपोखरी पाँच वर्षपछि लोभलाग्दो भएको छ।
१८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ गते शिलान्यास गरेको रानीपोखरी राष्ट्रपति भण्डारीबाटै आजै उद्घाटन हुन लागेको हो।
यसअघि गएको वैशाख १२ गते तथा संविधान दिवसका दिन असोज ३ मासमेत उद्घाटनको तयारी भए पनि कोरोनाका कारण काम प्रभावित हुन रानीपोखरी उद्घाटन हुन सकेको थिएन।
२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन गर्न लागिएको सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले बताए।
यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ।
आज राष्ट्रपतिले रानीपोखरी उद्घाटन गरेसँगै सबैका लागि खुला हुनेछ। बालगोपालेश्वर (यमलेश्वर) मन्दिर परम्परागत मान्यता अनुसार यस वर्षको एक दिन भाइटीकामा खुल्ने छ।
बगैँचा तथा पोखरीको सुरक्षामा केही समय रानीपोखरीमा सुरक्षाकर्मीसमेत खटाइने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन्।


























