चितवन, कार्तिक ३ । बडादशैं अन्तर्गत तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको पूजा आराधना गरी मनाइँदैछ। माता दुर्गाको तेस्रो शक्तिको नाम हो चन्द्रघण्टा। चन्द्रघण्टाको शीरमा घण्टा आकारको अर्धचन्द्र हुन्छ। यसैकारण दूर्गामाताको नाम चन्द्रघण्टा रहन गएको हो।
चन्द्रघण्टा देवीको बाहन सिंह मानिन्छ। चन्द्रघण्टा देवीलाई शान्ति र शक्तिको स्वरुपका रुपमा पूजा गरिन्छ। उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृत्ति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमददेवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ। माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीकोे आराधना गरी पूजा गर्ने चलन छ। गाउँघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान, कथावाचन तथा श्रवण गरिन्छ।


























