काठमाडौं, असोज २७ । कोरोना भाइरसको लागि पीसीआर परीक्षण शुल्क एक हजार रुपैयाँभन्दा बढी लिन नपाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने जनाएको हो।
असोज १५ गते मन्त्रीस्तरीय निर्णयबाट यसअघि दुई हजारभन्दा बढाउन नपाउने शुल्क घटाएर एक हजार रुपैयाँमा झारिएको हो। उक्त शुल्क समायनुकूल परिमार्जन हुँदै जाने मन्त्रालयले जनाएको छ।
यसअघि सुरुमा पाँच हजार ५०० रुपैयाँ शुल्क तोकिएको थियो। त्यसपछि घटाएर चार हजार ४०० रुपैयाँभन्दा बढी लिन नपाउनेगरी शुल्क तोकिएको थियो। त्यसपछि भने शुल्क घटाएर दुई हजार रुपैयाँभन्दा बढी लिन नपाउने जनाइएको थियो। अहिले दुई हजारबाट पनि आधा घटाएर शुल्क तोकिएको हो।
अन्तर्राष्ट्रिय बजारमा रिएजेन्ट तथा अन्य स्वास्थ्य सामग्रीको मूल्य कम भएकाले शुल्क घटाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोभिड-१९ परीक्षणका लागि एफडीए किट ईयूए मान्यता प्राप्त किटहरू र स्वास्थ्य सेवा विभागबाट स्वीकृति भएका किटहरूमा प्रयोग गर्न पाइने मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति पाएका प्रयोगशालाले मात्र एन्टीजेनबेस टेष्ट गर्न पाउनेछन्।
बायोसेफ्टी प्रोटोकल नमूना संकलन परीक्षण विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेअनुसार मात्र हुने उनको भनाइ छ। रिएजेन्ट नतिजा पोजिटिभ आएको रिपोर्ट काठमाडौंको हकमा इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने प्रवक्ता डा। गौतमले बताए। नेगेटिभ रिपोर्ट आएको खण्डमा भने सम्बन्धित व्यक्तिलाई मात्र जानकारी गराउनु पर्नेछ।


























