काठमाडौं, असोज २२ । सरकारी टोली र डा.केसीका प्रतिनिधिबीचको केहीबेर स्थगित भएको वार्ता पुनः सुरु हुँदैछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीबार बिहान साढे १० बजेदेखि जारी वार्ता दिउँसो ४ बजे फेरि बस्नेगरी स्थागित भएको थियो। नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले केहीबेर स्थगित वार्ता पुनः सुरु हुने लागेको जानकारी दिए।
बिहानदेखि भएको वार्तामा सरकारी टोलीसँग डा.केसीका मागहरुको सम्बन्धमा बुँदागत छलफल भएको बताए। स्रोतका अनुसार वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको छ।
डा.कार्कीले आफूहरुले जतिसक्दो छिटो वार्तालाई निष्कर्षमा पुर्याउन चाहेको समेत बताए।
चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै डा.केसी २५ दिनयता अनशनरत छन्। सरकारले डा.केसीसँग वार्ता गर्नका लागि बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो। जसमा मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा। दिलीप शर्मा सदस्य रहेका छन्।
सरकारले वार्ता टोली गठन गरेसँगै डा। केसीको तर्फबाट डा.जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय टोली गठन भएको थियो। वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की, संघका पूर्वअध्यक्ष डा.अन्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन्।


























