चितवन असोज १६ । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ। कोरोना भाइरस संक्रमण देखिएयता शुक्रबार सम्म ३१६ जनामा संक्रमण पोजेटिभ देखिएको छ। जस मध्य ७८ प्रतिशत संक्रमित कोरोना मुक्त भएर घर फर्किएका नगरपालिकाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।
स्वास्थ्य शाखा प्रमुख माधव पौडेलका अनुसार हाल सम्म १ हजार ४४४ जनाको पिसिआर नमुना परीक्षण गरिएकोमा ३१६ जनामा संक्रमण पुष्टि भएको छ। ती मध्य २४८ जना अर्थात ७८ प्रतिशत निको भएको र ६५ जना बिरामीमा कोरोना सक्रिय रहेको पौडेलले बताए। जस मध्य ५७ जना होम आइसोलेसन ,५ जना सामुदायिक आइसोलेसन र ३ जना संस्थागत आइसोलेसनमा छन्। उनिहरु सबै लक्षण बिहिन रहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए।
कोरोना संक्रमणका कारण रत्ननगरमा हाल सम्म ३ जनाको अर्थात १ प्रतिशतको मृत्यु भएको छ। मृत्यु हुनेमा २ जना पुरुष र १ जना महिला हुन्। रत्ननगरमा हाल सम्म ३९५ जना सामुदायिक क्वारेन्टाइन, ३१० जना होम क्वारेन्टाइनमा बसिसकेका छन् भने ४०५ जनाको आरडिटी परिक्षण गरिएको छ। रत्ननगरमा दुई वटा उद्योग मा संक्रमण फैलिएको कारण संक्रमितको संख्या धेरै देखिएको रत्ननगरका मेयर नारायण वनले बताए। मेयर वन स्वयम्मा कोरोना संक्रमण देखिएर निको समेत भइसकेको छ। रत्ननगरमा सबै भन्दा धेरै वडा नम्बर १४ मा ६५ जना र सबैभन्दा कम वडा नम्बर ६ मा १ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।
पत्रकार सम्मेलनमा कोरोना मुक्त भएका सो नगरपालिकाका मेयर नारायण वनले कोरोना संक्रमण पछि होम आइसोलेसनमा रहँदाको अनुभव सुनाए। “कोरोना संक्रमण नियन्त्रणका लागि दिनरात खट्दा आफैमा संक्रमण देखियो” मेयर वनले भने– “जनताको सेवामा खटिरहने बानी परेको घर भित्रै बस्दा उकुसमुकुस भयो,आफ्नो स्वास्थ्यको ख्याल गर्दै नगरबासीको पनि चिन्ता उत्तिकै लाग्यो।” कोरोनबाट छिटो मुक्त हुन आत्मबल बलियो बनाउनु पर्ने आफुले अनुभव गरेको उनले सुनाए।
होम आइसोलेसनमै बस्दा आत्मवल बढ्ने भन्दै मेयर वनले बाच्नको लागि कागतीको पात समेत खाएको बताए । उनले मरिच, बेसारपानी, निमको पात, पारिजातको पात समेत खाइएको समेत बताए। गुर्जो बेसार पानीको नियमित सेवन गरेको बताउदै उनले योगा, ध्यान समेत ती अबधिमा गरेको जानकारी दिए। होम आइसोलेसनको अबधिमा एक दिन अलि गाह्रो भए पनि चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य विधि अपनाइएको उनले सुनाए। मेयर वनले आफ्नो स्वास्थ्य प्रती चिन्ता व्यक्त गर्ने,सुझाब दिने,स्वास्थ्यको कामना गर्ने सबैलाइ धन्यवाद समेत दिए।
सो अवसरमा नगरपालिका उपमेयर बिमला दुवाडिले घरायसी र आयुर्वेदिक औषधि सेवन र योग अभ्यास नियमित गरे कोरोनालाइ सजिलै परास्त गर्न सकिने बताइन। यसैबीच सो नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम र व्यवस्थापनमा १ करोड ४९ लाख ८९६ रुपैया खर्च भएको जनाएको छ। आर्थिक बर्ष २०७६/७७ मा १ करोड २७ लाख र चालु आर्थिक बर्षमा २२ लाख ८९६ रुपैया खर्च भएको छ।


























