काठमाडाैं, असाेज १५ । अकूत सम्पत्ति कमाएको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका सिडिइ सुरेशकुमार शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएकाे छ। विभिन्न आयोजना तथा कार्यालयमा कार्यरत रहँदा पदीय दुरुपयोग गरेर तीन करोड छ लाख ५४ हजार ९३२ रुपैयाँ बराबर स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेकाे हाे। आयोगका अनुसार २०५२ माघ २५ गते राप तृतीय श्रेणी इञ्जिनीयर पदमा अस्थायी नियुक्ति लिई सार्वजनिक सेवामा प्रवेश गरेका शर्माले २०५३ साउन ४ गतेदेखि स्थायी भएको पाइएको छ।
यस्तै आर्थिक वर्ष २०७६/७७ सम्मको परीक्षण अवधिमा सिर्जित सम्पत्ति एवम् खर्च भएको विवरणको तुलना गर्दा आय अस्वाभाविक देखिएको आयोगको आरोप छ। शर्माको वैध आय रु दुई करोड ३५ लाख ३१ हजार ६७४ रहेको छ। खर्च तथा लगानी भने रु पाँच करोड ४१ लाख ८६ हजार ६०६ रहेको पाइएको छ। वैध आयभन्दा बढी खर्च गरी खरिद गरेका चलअचल सम्पत्ति एवम् विद्यमान सम्पत्ति तथा खर्च लगानीको स्रोत नखुलेको पाइएको आयोगले जनाएको छ। अवैध रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती बबिता फुँयाल शर्माको नाममा समेत राखेको पाइएको छ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी शर्माको अवैध सम्पत्ति जफथ गरी हदैसम्मको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो। अवैध तरिकाले कमाएको सम्पत्ति आफू र श्रीमतीको नाममा जग्गा खरिद गरेको, विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेको तथा विभिन्न कम्पनीको संस्थापक एवम् साधारण शेयरसमेत खरिद गरेको पाइएको छ।
घुस लिएको अभियोमा कार्यालय सहयोगी पक्राउ
आयोगले सेवाग्राहीबाट रु २४ हजार घुस लिएको अभियोमा जनकपुरधाम उपमहानगरपालिका–१३ का वडा कार्यालय सहयोगी दिलीपकुमार पञ्जियारलाई पनि बिहीबार कार्यालयबाटै पक्राउ गरेको छ। नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस गराइदिएबापत सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा बर्दिबासबाट गएको आयोगको टोलीले पञ्जियारलाई पक्राउ गरेको हो। आरोपीमाथि थप अनुसन्धान भइरहेको छ। – रासस

























