काठमाडौं, असोज १४ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले निर्मला पन्तको बलात्कार घटनाको अनुसन्धान भइरहेको बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आईजीपी क्षेत्रीले पन्तका हत्यारा पत्ता लगाउनका लागि प्रहरीले तिव्र रुपमा काम गरिरहेको बताएका छन्।
आईजीपी थापाले घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयबाट अधिकृत पठाइएको र अनुसन्धान भइरहेको बताए। उनले पन्तको अनुसन्धानमा खटिएका अधिकृत अहिले बझाङको सम्झना कामीको बलात्कार तथा हत्याको अनुसन्धानका लागि सहयोगीको रूपमा केही दिनका लागि पठाएको समेत जानकारी दिए।
‘निर्मला पन्तको केसमा औपचारिक र अनौपचारिक रूपमा अनुसन्धानमा लागेका छौं। अनुसन्धानका लागि प्रहरी अधिकृतलाई संघबाट पठाएका छौं’, उनले भने। कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका पन्तको २०७५ साउन १० गते महेन्द्रनगरमा हत्या गरिएको थियो। उक्त घटनामा स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबीनको माग गरेका थिए।
प्रहरीविरूद्धमा भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो। त्यसपछि भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानबिन समिति गठन गरेको थियो। आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको थियो।


























