चितवन, असोज ११ । नेपाली साहित्य क्षेत्रको उन्नयनको लागि चितवनको रत्ननगरमा रहेको खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले वि.स २०६३ सालदेखि पद्मश्री साहित्य पुरस्कार र वि.सं. २०६७ सालदेखि पद्मश्री साधना सम्मान गरी दुईवटा कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। सोहीअनुसार वर्ष २०७६ को पुरस्कार र सम्मानको लागि पनि असोज ११ गते स्रष्टा छनौट भयो। तर, पुरस्कृत स्रष्टा र सम्मानित स्रष्टाबाटै विभिन्न खालका टिप्पणी आउने र अन्य व्यक्तिहरुबाट समेत विभिन्न खालका प्रतिक्रिया आएपछि प्रतिष्ठानले यसवर्ष हुने कार्यक्रम नै रद्ध गरेको छ।
प्रतिष्ठानले सोमबार राति विज्ञप्ति जारी गर्दै असोज ११ गते पुरस्कार र सम्मानको घोषणा भएपछि केही विवाद र असहज परिस्थिति सिर्जना भएको भन्दै रद्ध गरिएको जनाएको छ। तीन/तीन लाख रुपैयाँ राशीको पुरस्कार र सम्मानको लागि छनौट हंस उपन्यास र मोदनाथ प्रश्रित छनौटमा परेका थिए। पूर्वनिर्धारित निर्णयअनुसार हंसका लेखक सञ्जीव उप्रेतीलाई पुरस्कार र मोदनाथ प्रश्रितलाई सम्माननित हुने कार्यक्रम थियो। तर घोषणा भएलगत्तै विभिन्न खालका टिप्पणी आउन थालेपछि विवादमा पर्नुभन्दा कार्यक्रम नै रद्ध गरेर समस्या समाधान गर्नतर्फ प्रतिष्ठान लागेको छ।
‘असोज ११ गते कार्यक्रम घोषणा भएपछि केही विवाद र अहसज परिस्थिति सिर्जना हुनुका साथै सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यसवर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पर्न गएको असहजताले हामी अत्यन्त दुःखी छौं, तर हाम्रो उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुऱ्याउने कदापि थिएन। सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ।’
यसपटकको कार्यक्रम रद्ध गर्न बाध्य भए पनि नेपाली साहित्यको प्रगति र उत्थानमा प्रतिष्ठान सदैव समर्पित रहने अध्यक्ष लामिछानेले बताए। प्रतिष्ठानले यी दुवै कार्यक्रम हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गर्दै आएको थियो। तर, यसवर्ष परिस्थिति फरक रहेकाले सोही दिन पुरस्कार तथा सम्मान कार्यक्रम गर्ने या नगर्ने भन्ने विषयमा भने निर्णय गरेको थिएन।


























