चितवन, असाेज ११ । भारतसँग जोडिएका सीमा क्षेत्र सुरक्षाका लागि चितवनमा थप दुई बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ। देशभरका सीमा क्षेत्रमा सरकारले सशस्त्र प्रहरीका बिओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि दुई वटा बिओपी थपेको हो। माडी नगरपालिका–९ को कान्छी बगाई र वडा नं १ को भङ्गटामा स्थापना गरिएका बिओपीको आइतबार सशस्त्र बल नम्बर तीन गढिमाई बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले उद्घाटन गरे।
सीमा क्षेत्रमा बिओपी थप गरेसँगै सीमा सुरक्षा थप मजबुतमा विश्वस्त रहेकाे उनले बताए। बिओपीकाे स्थापनाले लामो दूरीको सुरक्षा दिनुपर्ने बाध्यता हटेको उनले बताए। ‘साथै सीमा रक्षामा थप कटिबद्ध हुन पनि प्रेरित गरेको छ,’ उनले भने। यसअघि चितवनको माडी नगरपालिकामा तीनवटा मात्रै बिओपी पोष्ट थिए। थपिएका दुई सँगै जिल्लामा बिओपी पोष्टकाे संख्या पाँच पुगेको छ। माडीमै थप एक पोष्ट स्थापना गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। यसअघि बाँदरझुला, छरछरे र बाल्मीकि आश्रममा सशस्त्रका अस्थायी पोष्ट स्थापना गरिसकेकाे उनले बताए।
सशस्त्र प्रहरी बल १७ नं गणका प्रहरी उपरीक्षक दीपककुमार थापाले नयाँ पोष्ट १५ किलोमिटरको दूरीमा स्थापना भएको बताए। ‘पहिले तीनवटा पोष्ट ३० किलोमिटरको दूरीमा थिए, पहिलो चरणमा दुईवटा पोष्ट थपिएपछि सुरक्षा व्यवस्था मजबुत बनाउन थप मद्दत पुग्नेछ,’ उनले भने। थपिएका पोष्टमा ३५ जनाको स्वीकृत दरबन्दी रहेको उनले बताए। हाललाई भने पोष्टमा २५ जना प्रहरी तैनाथ गरिएको छ। चितवन जिल्लाको भारतसँग ८८ किलोमिटर खुला सीमा जोडिएको छ। माडीमा भारतसँगको सिमाना जोडिएको अधिकांश निकुञ्ज क्षेत्र पर्छ। – रासस


























