चितवन, असाेज ८ । नारायणगढ-मुग्लिन सडककाे वर्षाैँदेखिकाे समस्या अझै पनि उस्तै छ। मनसुन नसकिएसम्म डरैडरमा यात्रा गर्नुपर्ने बाध्यता अझै हटेकाे छैन। सडक निर्माणकाे समयदेखि नै पहिराेका कारण सास्ती भाेग्दै आएका यात्रुले अहिलेसम्म पनि भाेगिरहेका छन्। यसवर्ष लामाे समयसम्म मनसुन सक्रिय रहेकाेले पनि झनै त्रास बढेकाे मुग्लिन प्रहरीले जनाएकाे छ। हरेक दिनजसाे पहिराे झर्दा पटकपटक बाटाे अवरुद्ध हुने गरेकाे छ। असाेज महिनाकाे पहिलाे हप्ता बितिसक्दासमेत माैसममा सुधार नआएकाे हुँदा यात्रा गर्नेहरुले सावधानीपूर्वक हिँडडुल गर्न इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले आग्रह गरे।
उनका अनुसार बुधबार साँझदेखि फेरि बाटाे अवरुद्ध छ। सवारी चापमा वृद्धि भएसँगै पाँच वर्षभन्दा बढी समय लगाएर फराकिलाे बनाए पनि माथिबाट पहिराे झर्ने र तलबाट तान्ने समस्या समाधान हुन नसक्दा जाेखिम उत्तिकै रहेकाे उनकाे भनाइ छ। धेरै ठाउँमा सडक भासिएकाे छ। पहिराे खसेकाे स्थान र भासिएकाे स्थानमा अहिले पनि एकतर्फी मात्रै सञ्चालनमा छ। ‘भासिएकाे र पहिराे झरेकाे ठाउँमा हामीले चाहेर पनि पूर्णरुपमा दुईतर्फी खुलाउन सकेका छैनाैं,’ उनले भने, ‘किनकि अहिले कसरी हुन्छ यात्रा सहज बनाउने मात्रै काम भएकाे छ।’

नेपालकै मुख्य ‘लाइफ लाइन’काे रुपमा लिइने याे बाटाे अवरुद्ध हुँदा पूर्व-पश्चिमबाट राजधानी काठमाडाैं, पाेखरालगायतका स्थानमा जानेआउने यात्रुलाई ठूलाे समस्या पर्ने गरेकाे छ। छिमेकी मुलुक चीन र भारतसँग जाेडिने बाटाे पनि यही भएकाे हुँदा एकदिन बाटाे अवरुद्ध हुँदा त्यसकाे असर समग्र नेपाली बजारमा पर्ने गरेकाे छ। प्रहरी निरीक्षक तामाङका अनुसार पहिराेले यसपालि नयाँ ठाउँमा पनि दुःख दिएकाे छ। कहिल्यै पहिराे नझरेकाे ठाउँमा पनि यसपालि पहिराे झरेकाे छ। ‘पुरानाे ठाउँकाे समस्या त जहाँकाे त्यहीँ छ,’ उनले भने, ‘पहिराे झरेकाे ठाउँमा हामीले सकभर चाँडाे बाटाे खुलाउने प्रयास गर्दै आएका छाैँ। तर कहिलेकाहीँ माैसमकै कारण समयमै बाटाे खुलाउन नसकिएकाे अवस्था पनि छ भने कहिलेकाहीँ पहिराे नै ठूलाे झर्ने हुँदा यसै पनि समय लागिहाल्छ। ‘


























