काठमाडौं, असोज ७ । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइनु संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुँदैछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा आज सुनुवाई हुन लागेको हो। गौतमलाई राष्ट्रिय सभामा लगेर जनताको अभिमतको अपमान गरिएको भन्दै त्रिपाठीले सोमबार रिट दायर गरेका थिए।
‘प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्तिलाई संघीय संसद्को सोही कार्यकालभित्र राष्ट्रिय सभामा मनोनित गरिनु जनताको अभिमतको गम्भीर अपमान हो। प्रथम दृष्टिमै यो संविधानको जालसाजीपूर्ण एवं कपटपूर्ण प्रयोग हो,’ त्रिपाठीले पेस गरेको रिटमा उल्लेख छ।
गत भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिले गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनित गरेकी थिइन्। नेपालको संविधानको धारा ८६ (२) (ख) बमोजिम गौतमलाई मनोनित गरिएको हो।
गौतमलाई राष्ट्रिय सभामा ल्याइनु जनअभिमतको गम्भीर अपमान हुनुका साथै संविधानको धारा २ को स्पष्ट उल्लंघन भएको रिट निवेदनमा जनाइएको छ। धारा २ मा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको कुरा उल्लेख छ।
संविधानको धारा ७५ ले कार्यकारिणी अधिकार मन्त्रिपरिषद्लाई प्रदान गरेको भए पनि त्यसको प्रयोग विवेकहीन तथा स्वेच्छाचारी ढंगले हुन नसक्ने रिट निवेदनमा दाबी गरिएको छ।


























