काठमाडौँ, असाेज ६ । डा गाेविन्द केसी मंगलबार साँझ महाराजगञ्जस्थित शिक्षण अस्पतालकाे आकस्मिक कक्षामा भर्ना भएका छन्। मंगलबार नेपालगञ्जबाट राजधानी आइपुगेका डा केसीलाई दिउँसो प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पुर्याएका थिए। तर डा. गोविन्द केसी साँझ ६ बजेर १५ मिनेट जाँदा अस्पतालबाट स्वइच्छाले निस्किएर शिक्षण अस्पतालमा भर्ना भएका हुन्। डा. केसीले ट्रमा सेन्टरमा कुनै पनि प्रकारको परीक्षण तथा उपचार नगराई स्वइच्छाले शिक्षण अस्पताल पुगेका उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।
अस्पतालबाट निस्किए लगत्तै उनी केही सहयोगीका साथ ट्याक्सी चढेर शिक्षण अस्पताल पुगेका थिए। सुवेदीका अनुसार डा. केसीले अब शिक्षण अस्पतालमा नै अनशन बस्ने छन्। डा. केसी नेपालगन्जबाट काठमाडौै विमानस्थलमा ओर्लिपछि शिक्षण अस्पताल जान भनेर एम्बुलेन्स चढे पनि आफूलाई प्रहरीले अपहरण शैलीमा ट्रमा सेन्टर लगिएकाे बताउँछन्। डा. केसीले आफूलाई शिक्षण अस्पताल नलगेसम्म कुनै पनि प्रकारको परीक्षण र उपचार गर्न नदिने बताएका थिए।


























