चितवन, असोज ५ । भरतपुर विमानस्थलमा आजदेखि आन्तरिक उडान शुरु भएको छ। गएको चैत ११ गतेदेखि बन्द भएको उडान आजदेखि शुरु भएको हो। यहाँबाट यती एयरलाइन्स र बुद्ध एयरले उडान शुरु गरेका हुन्।
आज दुवै एयरलाइन्सले दुई÷दुई वटा उडान भर्दैछन्। बुद्ध एयरले बिहान ११ः१० र ३ः४० बजे उडान भर्ने जनाएको छ भने यती एयरलाइन्स बिहान १०ः५० र २ः२५ बजे उडान भर्नेछ। ६ महिनापछिको पहिलो दिन भएकाले दुवै एयरलाइन्सले चालक दलमा दुई जना क्याप्टेन राखेर जहाज उडान शुरु गरेका हुन्।
विमानस्थलमा असार ३० गते तारा एयरले चार्टर उडान गरेको थियो। लकडाउन अघि दैनिक पाँच वटा बुद्धले र तीन वटा यतीले उडान भर्दै आएका थिए। दुवै एयरलाइन्सले एउटा उडान पोखरा र चितवन गरेका थिए भने अन्य काठमाडौँबाट चितवन गरेका थिए। नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख योज्ञेन्द्र कुँवरले सुरक्षा कार्यविधि पूर्णरुपमा अपनाएर उडान शुरु गरिएको बताए। रासस


























