चितवन, असोज ५ । भरतपुर महानगरपालिकाद्वारा सञ्चालित प्राकृतिक चिकित्सालय आइसोलेशनबाट ५० जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन्। भरतपुर– १ बागेश्वरीमा रहेको योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा उपचार पछि उनीहरु सङ्क्रमण मुक्त भएका हुन्।
गत भदौ १४ गतेदेखि आइसोलेशन सञ्चालनमा आएको हो। चिकित्सालयका निर्देशक डा.हेमराज कोइरालाका अनुसार चिकित्सालयमा ५३ जना बिरामी उपचाररत छन्। चिकित्सालयमा योग तथा प्राकृतिक चिकित्सा विधिद्वारा उपचार गरिएको र खानपान तथा ध्यान साधनामा विशेष जोड दिइ उपचार गराइएको उनले जानकारी दिए। बिरामीलाई समय मिलाएर फलफूल, टुसा पलाएका गेडागुडी र हरेक साँझ दूधमा बेसार हालेर खुवाउने गरिएको छ।
बढीमा १४ दिनमा सबैलाई नेगेटिभ आएपछि घर पठाइने गरिएको छ। महानगरमा रहेका सङ्क्रमितलाई यहाँ राखेर उपचार गरिएको छ। अन्य ३ सय ४ जना होम आइसोलेशन र २० जना वडाले निर्माण गरेको क्वारेन्टिनमा छन्। महानगरमा हालसम्म १ हजार १ जना सङ्क्रमित भइसकेका छन्। यो संख्या जिल्लामा १ हजार ५ सय २९ रहेको छ। हालसम्म जिल्लाका १८ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ। ती मध्ये १० जना भरतपुर महानगरपालिकाका रहेका छन्।
पूर्वी चितवनमा चार वटा नगरपालिकाले एकै ठाउँमा र माडी नगर नगरपालिका एवं इच्छाकामना गाउँपालिकाले फरक फरक ठाउँमा आइसोलेशन तयार गरेका छन्। लक्षण नदेखिएका सङ्क्रमितलाई स्थानीय निकायले सञ्चालन गरेका आइसोलेशन र घरमै राखिएको छ। रासस


























