चितवन, असोज ५ । भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा आरटी पीसीआर किट अभावमा कोरोना परीक्षणको काम प्रभावित भएको छ। भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.युवानिधी बसौलाका अनुसार किट नहुँदा दुई दिनदेखि ल्याबको काम प्रभावित भएको हो।
उनले मन्त्रालयसँग किट माग गरिएको भए पनि माथि नै अभाव भएको भनिएकाले आउन नसकेको बताए। अस्पतालले आकस्मिक रुपमा परीक्षण गर्नुपर्ने किट खरिदका लागि कोटेसन आह्वान गरेको डा.बसौलाले बताए।
पाँच लाखभित्र सीधा खरिद गर्न पाउने नियम अनुसार किटका लागि कोटेसन माग गरिएको अस्पतालका स्टोर प्रमुख केशव सापकोटाले जानकारी दिए। प्रयोगशालामा आएनए एक्ट्याक्सन कीट भने रहेको डा.बसौलाले बताए। यसअघि पनि दुई दिन कीट अभावमा भरतपुर प्रयोगशालाको काम प्रभावित बनेको थियो। प्रयोगशालामा दैनिक औसत तीन सय नमूना परीक्षण हुँदै आएको छ।
Facebook Comments


























