चितवन, भदौ १० । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आउँदा साताबाट कोभिड १९ (कोरोना भाइरस) को परीक्षण शुरु गर्ने भएको छ। स्वास्थ्यकर्मी तथा बिरामीमा कोरोना सङ्क्रमण बढ्दै गएपछि अस्पतालले प्रयोगशाला सञ्चालन गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमका अनुसार भइरहेको प्रयोगशालामा रु २५ लाखको उपकरण थप गरी प्रयोगशाला तयार गरिएको हो। गौतमका अनुसार प्रयोगशालाको सम्पूर्ण काम सम्पन्न भइसकेको छ। उनले भने “क्रश चेकिङ्गको काम भइरहेको छ। अब हामी परीक्षण गर्न सक्छौँ।”
अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रयोगशालाको निरीक्षण गरी अनुमति दिन अनुरोध गरिसकेको छ। गौतमका अनुसार मङ्गलबारदेखि प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि सबै काम सम्पन्न भई नसकेकाले आगामी हप्ताबाट परीक्षण शुरु हुने भएको हो। सङ्क्रमण बढ्दै गएका कारण पिसिआर परीक्षणबिना बिरामीलाई जाँच्न नसक्ने अवस्थामा अस्पताल पुगेपछि आफ्नै प्रयोगशालालाई पिसिआर परीक्षण गर्ने गरी व्यवस्थित गरिएको हो।
आफ्नो प्रयोगशाला नहुँदा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा ढिलाइ भइरहेको भन्दै गौतमले भने “धेरै स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा हामीले समयमै रिपोर्ट पाउन सकेनौं, सेवा नै बन्द गर्नुपर्ने अवस्था आयो।” गौतमका अनुसार प्रयोगशालामा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी र स्थानीयको परीक्षण प्राथमिकतामा राखिने छ। शुल्क के कति लिने भन्ने विषयको टुङ्गो मन्त्रालयको परामर्शमा सञ्चालक समितिले गर्ने उनले जानकारी दिए।
प्रयोगशालाले एक सिफ्टमा ९६ जनाको नतिजा निकाल्न सक्छ। हाल भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशाला त्यति नै क्षमताको हो। क्यान्सर अस्पतालमा प्रयोगशाला सञ्चालन गर्न सक्ने पाँच जना जनशक्ति पनि रहेका छन्। अस्पतालमा दैनिक ५०० भन्दा बढी बिरामी उपचारका लागि आउने गर्दछन्। नेपालभरि र भारतबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गर्नछन्। हाल जिल्लामा भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको प्रयोगशाला सञ्चालनमा रहेको छ। रासस


























