चितवन । चितवनमा दुईवर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजमा सोमबार गरेको परीक्षणमा रत्ननगर १० की दुईवर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको हो। ती बालिकासँगै सोमबार गरिएको परीक्षणबाट चितवनका मात्रै २१ जनामा संक्रमण पुष्टि भएको छ। सोमबार परीक्षण गरिएका १२५ वटा नमुनामध्ये चितवनका २१ सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
चितवनका संक्रमितमध्ये पनि भरतपुर महानगरपालिकाका मात्रै १७ जना छन्। भरतपुर महानगरपालिकाको वडा नं. १, २, ३, ७, १०, ११, १२, २६ र २९ का ९ वर्षदेखि ५८ वर्ष उमेरसम्ममा मानिसहरूमा संक्रमण पुष्टि भएको अस्पतालका माइक्रोबायोलोजिस्ट डा नवीनकुमार चौधरीले जानकारी दिए। त्यसबाहेक राप्ती, खैरहनी र रत्ननगरका गरी चारजनामा संक्रमण पुष्टि भएको हो। रत्ननगरका भने दुईवर्षिया बालिकामा समेत संक्रमण पुष्टि भएको छ। तीबाहेक मकवानपुर र पर्साका एक/एकजना, नवलपुर र रोल्पाका तीन/तीनजना र गोरखाका दुईजनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।




























