चितवन, भदौ ७ । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कोरोना परीक्षण ल्याव सञ्चालनको तयारी गरिएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले अबको एक महिनाभन्दा कम अवधिमा नै कोरोना परीक्षण ल्याव अस्पतालमा सुरु गर्ने बताए। त्यसका लागि आवश्यक प्रकृया अघि बढेको छ।
सामान झिकाउन अस्पतालको आवश्यक सहयोग कम्पनीलाई हुने डा.गौतमले बताए। ल्याबमा दैनिक दुई सय भन्दा बढीको परीक्षण गर्न सकिने कार्यकारी निर्देशक डा.गौतमले जानकारी दिए।
उनले सकभर एक घण्टाभित्र नै जाँच गरेर रिपोर्ट दिने मेसिन र रिएजेन्ट खोजिएको बताए।
अस्पतालले अहिले भरतपुर अस्पताल मातहत सञ्चालित भरतपुर कोभिड ल्यावमा अप्रेशन गर्नुपर्ने बिरामी तथा चिकित्सक स्वास्थ्यकर्मीहरुको नमूना परीक्षण गराउँदै आएको छ। ल्याबमा चाप अधिक हुँदा बिरामीहरुको रिपोर्ट ढिला आउने हुँदा उपचार सेवासमेत प्रभावित हुँदै आएको छ। अस्पतालले भरतपुर कोभिड ल्यावका लागि दुई जना प्राविधिक जनशक्तिसमेत सहयोग गर्दै आएको छ।
अस्पतालले अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी संक्रमित भएमा उनीहरुलाई राख्नका लागि आइसोलेसन तयार गरेको छ। साथै अस्पताल, अस्पतालका क्वारटरहरूको निर्मलीकरणको कामसमेत भएको कार्यकारी निर्देशक डा.देजकुमार गौतमले जानकारी दिए।

























