काठमाडौं, भदौ ७ । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप एक नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्वर्गमा थप एकजनाको मृत्यु भएको हो। समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १६ मुलुकमा रहेका १९२ नेपालीहरुको मृत्यु भएको हो।
स्वास्थ्य समितिका अनुसार यो साता पनि अस्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरबलगायत देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ। विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ।
स्वास्थ्य समितिका संयोजक डा.सन्जीव सापकोटाका अनुसार अस्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो दोस्रो लहर सुरु भइसकेको छ। सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजग रहन आग्रह गरे।
कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्वीडेन, भारत, साउथ अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान हो।
हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ९३।५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ।























