काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। १०१ वर्षकाे उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ। घिमिरेका छोरा राजीवका अनुसार पछिल्लो समय उनी अस्वस्थ थिए। वि.सं. १९७६ साल असाेज ७ गते लमजुङकाे पुस्तुनमा जन्मिएका घिमिरेका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन्।
घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए। उनले राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ‘मनको बाँध’ चलचित्रको ‘फूलको थुङ्गा बगेर गयो’ तथा नारायणगोपालले गाएको ‘आजै र राति के देखेँ सपना’जस्ता गीत पनि रचेका थिए।
नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो। घिमिरेकाे निधनले नेपालकाे सिंगाे साहित्य क्षेत्रले एक हाेनहार प्रतिभा गुमाएकाे छ। घिमिरेकाे निधनप्रति राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रितष्ठान नेपालका निवर्तमान अध्यक्ष बद्री पंगेनीले देशले एउटा महत्तवपूर्ण गहना गुमाएकाे बताए।


























