चितवन । काेराेना संक्रमितकाे उपचार र व्यवस्थापनकाे लागि कुल ७५ शय्याकाे आइसाेलेसन कक्ष बनाएकाे भरतपुर अस्पताल संक्रमितले भरिएकाे छ। साेमबार संक्रमितकाे संख्या थपिएपछि आयसाेलेसनमा रहेका सबै बेड भरिएकाे अस्पतालका सूचना अधिकारी लीलाधर पाैडेलले जानकारी दिए। हाल अस्पतालमा ५३ जना पुष्टि भएका संक्रमित छन्। संक्रमितकाे संख्या ५३ भए पनि संक्रमण आशंकाकाे घेरामा रहेकाहरुका कारण बेड भरिएकाे उनले बताए।
हालसम्म संक्रमण पुष्टि भएकामध्ये ३० जना हाेम आइसाेलेसनमा रहेका उनले बताए। १० वेड आइसीयू छुटाइएको थियो । आइसीयूमा भने ७ वटा बेड खाली रहेकाे उनले बताए। हाल अस्पतालकाे क्षमता भरिएका कारण अब नयाँ संक्रमित देखिए कहाँ राख्ने भन्ने चिन्ता थपिएकाे उनले बताए। सरकारी मातहतकाे अस्पतालमा आइसाेलेसन भरिएकाेले नयाँ संक्रमित थपिएमा के गर्ने भन्ने विषयमा स्थानीय सरकार, राजनैतिक दल तथा सराेकारवाला सबैकाे ध्यान केन्द्रित हुनुपर्ने पाैडेलले बताए।
चितवनमा मात्रै हालसम्म संक्रमितकाे संख्या दुईसय नाघेकाे छ। सबैभन्दा पहिले गत बैशाख ५ गते एकैपटक दुईजनामा संक्रमण पुष्टि भएकाे थियाे। त्यसपछि फाट्टफुट्ट संक्रमित देखिँदै आएकाेमा साउन महिना लागेपछि संक्रमितकाे संख्या ह्वात्तै बढेकाे हाे।


























