चितवन, साउन ३० । भरतपुर महानगरपालिका चितवन जिल्लाकै सबैभन्दा उच्च जोखिममा परेको छ। कोरोना भाइरस संक्रमणको दर अन्य स्थानीय तहको तुलनामा भरतपुर महानगरपालिकाभित्र बढी देखिन्छ। पछिल्लो २४ घण्टामा मात्रै भरतपुर महानगरपालिकाभित्र १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
शुक्रबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि २४ घण्टामा संक्रमितको संख्या १५ पुगेको हो। शुक्रबार गरिएको परीक्षणमा भरतपुर महानगरपालिका वडा नं. ७ का ६ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएकाहरूमा संक्रमण पुष्टि भएको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन्।
Facebook Comments


























