साउन २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकमै बेसारको कुरा गरेपछि यो खूबै चर्चित बन्यो। सामाजिक सञ्जालमा बेसारमय तस्वीरहरु देखिए। कतिपय कलाकारले त यसको गीत बनाउनसमेत भ्याए। खास बेसार के हो त ? यहाँ थोरै चर्चा गर्ने प्रयास गरिएको छ।
बेसार जिन्जिबेरसी परिवारको एक कन्दमूल हो। यसको वानस्पतिक नाम करक्यूमा लोगा हो। नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ। विशेष गरी बेसार दक्षिणी तथा दक्षिण–पूर्वी एसियाको कन्दमूल हो तर आज विश्वका सम्पूर्ण देशहरूमा यसको प्रयोग हुने गर्दछ।
बेसारमा हुने कुरकुमिन नामक जैविक रसायनका कारण नै बेसार पहेँलो देखिएको हो। यस रसायनमा विभिन्न औषधीय तत्व पाइन्छ। पौष्टिक तत्वहरूको रूपमा यस बेसारमा भिटामिन ए १७ प्रतिशत प्रतिसय ग्राममा, केही मात्रामा भिटामिन बी, बी–२, सी र ३९० क्यालोरी प्रति एक सयग्राममा पाइन्छ भनिएको छ । खनिजमा क्याल्सियम, फस्फोरस, फलाम आदि प्रचूर मात्रामा पाइन्छ।
मसलाको समूहमध्ये अग्रपंक्तिमा आउने बेसार, लसुन र प्याजका अतिरिक्त हाम्रो भान्छामा सधैँ भइरहने उपयोगी सामग्री हो। बेसारले हाम्रो भोजनलाई आकर्षक त अवश्य बनाउँछ तर यसको अलावा केही विशेष तत्वहरू पनि प्रदान गर्छ। बेसारमा कीटाणुहरूलाई मार्ने शक्ति हुन्छ भन्ने तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानहरूले सिद्ध गरिसकेका छन्।
सुपरिचित मसला बाली बेसारको बहुउपयोगी गानो जमिनमुनि हुन्छ। नेपालमा यसको खेती प्राचीन कालदेखि नै भएको पाइन्छ। आजकल बेसारलाई चिकित्सा विज्ञानले भिटामिन तथा खनिज लवणहरूको उत्तम स्रोतको रूपमा लिने गरेको पाइन्छ। चिनियाँ चिकित्सा पद्धतिमा बेसारलाई पर्याप्त मात्रामा प्रयोग गर्ने गरिन्छ। बेसारमा रहेको संक्रमण हटाउने र घाउको जलन कम गर्ने विशेष तत्वले यसलाई औषधिको रूप दिएको हो।
विशेष गरी यो बेसार पिँडालु, भण्टा, मूला आदि अन्य तरकारी बालीहरूसँग मिश्रित वा अन्तरखेती गर्ने चलन छ। आचार्य चरकले बेसारलाई कुष्ठ र लुतो हटाउने, विष नष्ट गर्ने गुणयुक्त मानेका छन्। यस्तै आचार्य सुश्रुतले श्वास रोग, खोकी, रक्तपित्त, आँखा रोग, कुष्ठ र प्रमेहलगायत निर्मूल गर्न यसलाई प्रभावकारी मानेका छन्। अमेरिकास्थित पेन्सिलभेनिया विश्वविद्यालय, मेडिकल सेन्टरका डा.अमोन ए नान्जीले के प्रमाणित गरेका छन् भने, बेसार नियमित खाँदा रक्सीले कलेजोलाई पुर्याउने क्षतिसमेत कम हुन्छ। क्यानाडाको टोरन्टो जनरल अस्पतालका अनुसन्धानकर्ताहरूले जनरल अफ क्लिनिकल इन्भेस्टिगेसनमा प्रकाशन गरेको प्रतिवेदनअनुसार बेसारले हार्ट फेल हुनबाट बचाउँछ, क्षतिग्रस्त मुटुलाई थप नोक्सान हुनबाट रोक्छ। उक्त अनुसन्धानअन्तर्गत बेसार मुटु रोगले प्रभावित मुसालाई सेवन गराइएको थियो।
बेसारको औषधीय गुणलाई बुझेर नै सौन्दर्य प्रसाधनमा र औषधिको रूपमा पनि यसको प्रयोग प्रशस्त मात्रामा भएको पाइन्छ। बेसारलाई हल्दी पनि भनिन्छ । बेसार मसलाको रूपमा प्रयोग हुने वस्तु हो। यसको जरा खास गरी परिकारको रंग बदल्नको लागि प्रयोग गरिन्छ। यसको रंग पहेँलो हुन्छ। त्यसैले यसले परिकारको रंग पनि पहेँलो बनाउँछ। यसको बिरुवा अलैंचीको बिरुवाजत्रै हुन्छ। यसको पात पनि ठूलो अलैंचीको पातजस्तै हुन्छ। जरा अदुवाको जराजस्तै हुन्छ। यो एक प्रकारको नगदे बाली पनि हो। यसको जरा आयुर्वेदिक ओखती बनाउनमा पनि प्रयोग गरिन्छ। नेपालको अधिकांश भूभागमा यसको खेती गरेको पाइन्छ।
























