राजविराज, साउन २२ । सप्तरीमा मंगलबार मृत्यु भएका तीन जनामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ।
रूपनी गाउँपालिका ४५ वर्षीय पुरुष, राजगढ गाउँपालिकाका ७१ वर्षीय पुरुष र मा डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको थियो। तीनै जनाको मृत्यु कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएको आधारमा स्वाब परीक्षण गरिएको थियो।
रूपनीका पुरुषको रिपोर्ट पोजेटिभ र अन्य दुई जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
रूपनीका ती पुरुष डेढ महिना अघि मलेसियबाट फर्किएका थिए। पछिल्लो समय ज्वरो आएपछि र स्वासप्रस्वासमा समस्या भएपछि उनी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएका थिए।
त्यहाँ उपचार सम्भव नभएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएपछि उनको मृत्यु भएको थियो। गाउँमा शवको अन्तिम संस्कारको तयारी भइरहेका बेला गाउँपालिकाले नै हस्तक्षेप गरी स्वाब परिक्षण गराएको थियो।
स्वास्थ्य कार्यालयले उनका परिवारजनाको पनि स्वाब परीक्षणको गराउने भएको छ। ती मृतकको सम्पर्कमा आएका सबैलाई होम क्वारेन्टाइनमा राखेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।
यसैगरी, राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका राजगढ गाउँपालिकाका ७१ वर्षीय पुरुष र डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएको यादवले बताए।
यो सँगै सप्तरीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ भने कोरोना संक्रमितको संख्या ५४० पुगेको छ। यसअघि गत साउन १ गते राजविराज ६ का ७३ वर्षिय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। मृत्युको करिब दुई साताअघि उनी भारतको दरभङ्गाबट फर्किएका थिए।


























