काठमाडौं, साउन २२ । आन्तरिक संकटमा नराम्रोसँग रुमल्लिएको सत्तासिन नेपाल कम्युनिष्ट पार्टीको विवाद समाधान हुने संकेत नदेखिएका बेला पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड–नेपाल पक्षलाई निशाना बनाएका छन्।
ओलीले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट राजीनामा दिने पर्ने अडान राख्दै आएका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पदीय स्वार्थका लागि चलखेल गरेको आरोप थापाले सामाजिक सञ्जाल मार्फत लगाएका हुन्।
उनले झलनाथ खनाललाई राष्ट्रपति, प्रचण्डलाई प्रधानमन्त्री, नेपाललाई पार्टी अध्यक्ष तथा नारायणकाजी श्रेष्ठ प्रकाशलाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाउनका लागि ‘खुमलटार गठबन्धनको रिहर्सल’ भएको आरोप सामाजिक सञ्जाल मार्फत लगाएका हुन्।
थापाले तत्कालीन माओवादी भित्र १० वर्ष पहिले साउनमै ‘धोबीघाट गठबन्धन’ को प्रयास भएको र अहिले पनि सोही समयमा पदीय लालचाका लागि गुटगत प्रयास भएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘१० वर्षअघि साउनको यही बेला धोबीघाट गठबन्धनको चलखेल भयो। संसदीय दलको नेता बाबुराम भट्टराई, जनसेना ईन्चार्ज रामबहादुर थापा बादल, संगठन विभाग प्रमुख मोहन वैद्य किरण र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बनाउने अपेक्षासहित।’
थापाले अघि लेखेका छन्, ‘पार्टी अध्यक्ष तथा संसदीय दलको नेताबाट पुष्पकमल दाहाल प्रचण्डलाई अपदस्थ गर्न केन्द्रीय कमिटिमा हस्ताक्षर संकलन भयो। बाबुराम, वैद्य, बादल, नारायणकाजी र विप्लवको मोर्चाबन्दी चल्यो । परिणाम स्वरुप माओवादी धार एक दर्जन समूहमा विभाजन र विघटन भयो।’
१० वर्षपछि सोही समयमा फेरि चलखेल भएको उनले उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरूद्ध दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको मोर्चाबन्दी छ। यो पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्धति र एकताको लडाईँ हो त ? पार्टी विभाजनको खुल्लमखुला हाँक, होहल्ला र रिहर्सल गर्दा यसबाट एकतालाई कहाँनेर सहयोग पुग्यो ?’
उनले नेकपा विभाजन र समाप्त पार्ने कसरत भइरहेको भन्दै लेखेका छन्, ‘देशीविदेशी षडयन्त्र र चलखेल जारी छ भन्नेतर्फ सचेत भएको खोई ?’


























