काठमाडौं, साउन २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि छलफल हुँदैछ। छलफल आज साँझ हुने प्रचण्डको नीजि सचिवालयले जनाएको छ।
अध्यक्ष प्रचण्ड पक्ष नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपामा पछिल्लो समय विवाद चर्किएको छ। पार्टीको किचलो अन्त्य गर्न भन्दै वार्तामा जुटेका शीर्ष नेताहरुबीच कुनै सहमति जुट्न सकेको छैन। गत साउन १३ गतेपछिको संवादहीनता तोड्दै पछिल्लो पटक निरन्तर भएको छलफलमा छलफलमा बरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी हुँदै आएका छन्।
यसअघि मंगलबार भएको छलफलका क्रममा लगानी बोर्डको सिइओमा विवादास्पद व्यक्तिलाई नियुक्त गरेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका थिए। त्यस्तै छलफलमा प्रचण्ड र खनालले स्थायी कमिटी बैठक बोलाउन जोड दिएका थिए भने ओलीले पहिला सचिवालय बैठक राखेर मात्र स्थायी कमिटी बस्नुपर्ने बताएका थिए।
साउन १३ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक एकलौटी स्थगित गरेको भन्दै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालनिकटका २९ स्थायी कमिटी सदस्य र दुईजना आमन्त्रित सदस्यसहितको बैठकले ओलीसँग संवाद गर्न प्रचण्डलाई जिम्मा दिएको थियो।


























