पर्सा, साउन १४ । वीरगञ्जमा बुधबार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा सेना, प्रहरी र कैदीबन्दीसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायका अनुसार एक चिकित्सकसहित एक सैनिक, २ प्रहरी र २ जना कारागारका कर्मचारी, ६ कैदीबन्दीलगायत रहेका छन्। वीरगञ्जका वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दा मध्ये ५ जना बालबालिका र १० जना महिला रहेका छन्।
पर्सामा कोरोना संक्रमितको संख्या बढेपछि व्यवस्थापनमा समस्या भइरहेको छ। यसअघि नै ४८ जना संक्रमित अस्पतालसम्म पुग्न पाएका छैनन्। उनीहरु घरमै छन्। घरमै संक्रमित राख्दा होम आइसोलेसनको मापदण्ड पूरा नहुने भएकाले परिवारका अन्य सदस्यमा पनि संक्रमण फैलने जोखिम बढिरहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन्।
५० बेड क्षमताको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा ६२ जना संक्रमितलाई राखिएको छ। जसमध्ये पाँच जना आईसीयुमा रहेका छन्।


























