काठमाडौं, साउन १२ । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई चार वर्षका लागि सदस्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।
खेलकुद विकास ऐन २०७७ अनुसार बैठकले निवर्तमान सदस्यसचिव सिलवाललाई नै नियुक्त गरेको हो। सदस्यसचिवका लागि २७ जनाले दरखास्त दिएकोमा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो।
सिलवालसँगै भलिबल टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेकपाका केन्द्रीय सदस्य समेत रहेका लिलबहादुर थापालाई सदस्यसचिवका लागि सिफारिस गरिएको थियो।
त्यस्तै शिव कोइराला राखेपको उपाध्यक्षमा नियुक्त भएका छन्। कोइरालाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रचार प्रसार विभाग संयोजकको जिम्मेवारी निर्वाह गरेका थिए।
Facebook Comments


























