चितवन, साउन ५ । गत आर्थिक वर्ष ०७६/७७ मा चितवन राष्ट्रिय निकुञ्जले वनजन्य अपराध गर्ने एक हजार ६ सय ११ जनालाई पक्राउ गरेको छ। निकुञ्जको ऐनविपरीत यस्ता अपराध गर्ने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्ने गरेको छ।
निकुञ्जले दिएको जानकारीअनुसार उक्त आवमा निकुञ्जको क्षेत्राधिकारभित्र पर्ने नारायणी नदी, राप्ती नदी तथा रिउलगायत नदीहरूमा अनुमतिविना माछा मार्ने ७ सय २६ जना पक्राउ परेका छन्। यस्तै घांँसदाउरा गर्ने ५ सय ८७ जना, राप्ती निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका नदीहरूमा जाल हान्ने तथा तिहारी जाल बिछ्याउने ३६२ जना पक्राउ परेका थिए।
यस्तै निकुञ्जले वन्यजन्तु तस्करी, काठ तस्करी तथा नदी उत्खनन गर्नेलाई समेत पक्राउ गरेको छ। जसअनुसार बालुवा गिट्टी चोरी गर्ने तथा अनुमतिविना उत्खनन तथा संकलन गर्ने १३८ जना, काठ तस्कर गर्ने २० जना, वन्यजन्तु तस्कर गर्ने १८ जना तथा निकुञ्जमा अनुमतिविना प्रवेश गर्ने नौजना विदेशीलाई समेत पक्राउ गरेको छ।
यस्तै निकुञ्जमा नदीजन्य तथा अन्य वस्तु संकलन तथा ओसारपसार गर्ने ५४ ट्र्याक्टर, अनुमतिविना यस क्षेत्रमा प्रवेश गरी माटो खन्ने नौवटा जेसीभी र १८ वटा डुंगालाई नियन्त्रणमा लिएको छ। निगुरो, तामा संकलन गर्ने ९६ जना र अन्य वनजन्य अपराधमा संलग्न अन्य १७ जना पक्राउ परेका छन्।
पक्राउ परेका ती व्यक्तिलाई अपराधको प्रकृति र कसुरअनुसार राष्ट्रिय निकुञ्ज ऐन २०२९ र निकुञ्ज नियमावली २०३० अनुसार कारबाही गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए। “यस्ता अपराध गर्नेलाई अपराधको प्रकृति हेरेर कारबाही गरेका छौं,” उनले भने, “यस्ता अपराधमा दण्ड, जरिवानका साथै निकुञ्ज ऐन २०२९ आकर्षित हुन्छ।”


























