काठमाडौं, साउन ३ । नेकपा सचिवालय कमिटी बैठकले पार्टीको आन्तरिक संकटलाई सहमतिका आधारमा समाधान गर्ने सम्बन्धमा थप गृहकार्य गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय कमिटी बैठकमा पार्टी एकता रक्षा र सुदृढ गर्ने, जनादेशअनुसार काम गर्ने गरी पार्टीको संकट निवारण गर्ने विषयमा छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिने औपचारिक प्रस्ताव आएको होइन। थप छलफल व्यवस्थित गर्ने कुरा भएको छ। सहमतिको आधारमा पार्टीको संकट समाधान गर्ने विषयमा छलफल। पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने बारेमा छल्फाल भएको छ। जनादेश अनुसार नै संकट समाधान गर्ने विषयमा छलफल भएको छ,’ प्रवक्ता श्रेष्ठले भने।
दिउँसो करिब सवा तीनमा शुरु भएको बैठक करिब सवा ७ सम्म लम्बिएको थियो। पार्टीको आन्तरिक विवादका कारण केही दिनदेखि पार्टी स्थायी कमिटी बैठक स्थगित भइरहेको अवस्थामा सचिवालय बैठक बसेको थियो।
सचिवालय कमिटी बैठक जारी रहेकै बेला स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसमेत बालुवाटार प्रवेश गरेका थिए। शनिबार साँझ पौने ६ बजेतिर मुख्यमन्त्री पोखरेल बालुवाटार छिरेका थिए भने ६ बजेतिर स्वास्थ्यमन्त्री र महिलामन्त्री बालुवाटार प्रवेश गरे।
जारी सचिवालय कमिटी बैठकमा पहिलो चरणमा सचिवालयका ९ जना नेताहरूबीच छलफल भएपछि ढकाल, गुरुङका साथै पोखरेल पनि पुगेका थिए। तर उनीहरुलाई बालुवाटार बोलाइएको थियो भन्ने खुल्न सकेको छैन।


























