इनरुवा, साउन ३ । भारतसँग सीमा जोडिएको सुनसरीको घुस्की नाकामा तनाव बढ्न सक्ने देखिएपछि सुरक्षाकर्मीको संख्या बढाइएको छ ।
रातिको समयमा सशस्त्र र तस्कर समूहबीच भएको झडपको क्रममा गोलि लागेका व्यक्तिका आफन्त र स्थानीय आन्दोलित बनेपछि सो क्षेत्रको अवस्था आज बिहानबाट नै तनावपूर्ण देखिएको छ।
पेटमा गोली लागेका स्थानीय घुस्की ७ का २० वर्षीय सवाद भनिने सहजद जट अन्सारीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार जारी छ। बोर्डरमा घर भएका घाइते जटका नेपाल तर्फका मात्र नभएर भारतीय भूमी तर्फ बसोबास गर्दै आएका आफन्त र स्थानीयवासी सशस्त्र प्रहरीविरुद्धको आन्दोलनमा उत्रिएका छन्।
सडकमा टायर बालेर प्रर्दशन समेत गरेका उनीहरुले सुरक्षाकर्मीले जानीजानी गोली हानेको भन्दै कारबाहीको माग समेत गरिरहेका छन्। स्थानीयको आक्रोश र बोर्डरमा हुन सक्ने सम्भावित तनावको अवस्थालाई मध्यनजर गर्दै सो स्थानमा नेपाल प्रहरीसहित सशस्त्रको उपस्थिति बाक्लो बनाइएको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख एसपी कृष्ण ढकालले जानकारी दिए।
सम्भावित झडप हुन नदिन हरसम्भव प्रयास जारी रहेको एसपी ढकालले बताए। आक्रोसित अवस्थामा रहेका जट समुदायलाई सम्झाउने प्रयास भइरहेको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए।
घटना बारे विस्तृत छानविन हुने बताउनु भएका अन्सारीले घाइतेका आफन्तलाई अवस्था बुझ्न अस्पताल पठाइएको बताए। बोर्डर क्षेत्रमा रहेका स्थानीय पत्रकार नसिम अन्सारीका अनुसार सो क्षेत्रको अवस्था निकैनै तनावपूर्ण रहेको छ।
घरेलु हतियारसहित स्थानीय सडकमा उत्रिएका छन्। एकातर्फ सुरक्षाकर्मी र अर्कोतर्फ आन्दोेलित पक्ष आम्ने साम्ने अवस्थामा बसेका छन्।


























