काठमाडौं, साउन ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच ‘वान अन वान’ वार्ता जारी छ। दिउँसो एक बजे देखि प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता शुरु भएको छ।
ओली–दाहाल बीच वार्ता पछि सचिवालय बैठक बस्ने तय भएको छ। दुई अध्यक्ष बीच सचिवालयका अजेण्डाबारे वार्ता भइरहेको दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले बताए। “दुई अध्यक्ष बीच भेटवार्ता जारी छ, यस पछाडि सचिवालय शुरु हुनेछ”, सापकोटाले भने।
सचिवालय बैठक दिउँसो तीन बजे बोलाइएको छ। विभाजनको नजिक पुगेको नेकपाको लामो समय पछाडि सचिवालय बैठक बस्न लागेको हो। गएको १० असार देखि जारी स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बोलाइएको छ।
२ साउनमा निर्धारित स्थायी कमिटी आइतबार बस्नेगरी स्थगित गरी आज सचिवालय बैठक बोलाइएको छ। स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागिएपछि स्थायी कमिटी बैठकमा ओली बसेका छैनन्।
तर, १ साउनमा भएको बरिष्ठ नेता माधवकुमार नेपाल सहित दुई अध्यक्षको छलफल भएपछि भने प्रधानमन्त्री ओली स्थायी कमिटी र सचिवालय बोलाउन तयार भएका छन्।


























