विराटनगर, साउन ३ । सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको गोली लागेर एकजना गम्भीर घाइते भएका छन्।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट हरिनगर गाउँपालिका– ७ जटबरामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर हरिनगर–७ सुकुम्बासी टोलका सहजब जट गम्भीर घाइते भएका हुन।
पेटमा गोली लागेर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका उपरीक्षक कृष्ण ढकालले जानकारी दिए।
उनका अनुसार शुक्रबार राति भारतबाट आउँदै गरेको समूहलाई सशस्त्र प्रहरीले सोधपुछ गर्दा बाँस र ढुंगाले आक्रमण भएको थियो। सीमा सुरक्षामा खटिएका प्रहरी जवान जीवराम विशंखेमाथि तस्करको समूहले आक्रमण गर्दै हतियार खोस्न खोजेपछि गोली चलेको प्रहरीको भनाइ छ।
‘प्रहरीले रोक्न खोज्दा एक्कासी आक्रमण गरेर हतियार खोस्न खोजे,’ ढकालले भने, ‘हतियार खोसाखोस हुँदा गोली चल्यो।’ तस्कर समूहको आक्रमणबाट प्रहरी जवान पनि घाइते भएको उनले बताए।
सुनसरीमा यो लगातर दोस्रो गोली चलेको घटना हो। बिहीबार राति करिब ११ बजे सुनसरीको देवानगञ्ज गाउँपालिका–३ पानीटंकीमा नेपाल प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको थियो।
प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–२ बस्ने २३ वर्षीय पिन्टु यादव र देवानगञ्ज ३ बस्ने राजेश यादव घाइते भएका छन्। अन्य तीनजना भने भारततिर भागेका थिए । घटनास्थलबाट प्रहरी पेस्तोल, म्यागजिन, गोली र दुईवटा मोटरसाइकल बरामद गरेको थियो।


























