साउन २ । प्रायजसो तराईका थारुहरु घुंगी खाने गर्दछन्। तर यसको स्वाद र फाइदाका कारण घुंगीका पारख बढ्न थालेका छन्।
घुंगीमा प्रसस्त मात्रामा प्रोटिन र क्याल्सियम पाइन्छ। यसको सेवनले शरीरमा तागत बढ्नुको साथै बिभिन्न रोग नियन्त्रणमा पनि उपयोगी हुन्छ।
यसलाई पोषणको पर्याय पनि मान्ने गरिन्छ। यदि तपाई पनि घुंगीको स्वाद लिन चाहनुहुन्छ भने आज हामी यसलाई पकाउने विधिबारे जानकारी दिनेछौ।
आवश्यक सामग्री
घुंगी – सवा १ केजी
तेल – ३ चम्चा
मेथी – थोरै
सुकेको खोर्सानी – ३/४ वटा
प्याज – ३ वटा
गोलभेडा – ४ वटा
अदुवा, लसुनको पेष्ट – २ चम्चा
जिरा, धनियाको मसला – २ चिया चम्चा
बेसारको धुलो – आधा चम्चा
नुन – स्वाद अनुसार
गरम मसला – २ चिया चम्चा
खोर्सानीको धुलो – १ चिया चम्चा (स्वाद अनुसार)
आलसको धुलो – १ चम्चा
धनियाँ – एक मुठ्ठी
पानी – घुंगीको रस बढाउन
सफा गर्ने तरिका
बजार वा पोखरीबाट ल्याएको घुंगीबाट माटो निकाल्न एक दिन वा रात सफा पानीमा राख्नु पर्दछ। यसो गर्दा घुंगीको शरीरबाट माटो निस्कन्छ।
यदि अर्काे पानीमा राख्दा अझै पानी धमिलो देखियो भने थप केहि घण्टा अर्काे सफा पानीमा राख्नु पर्दछ। यसरी राखेको घुंगीलाई झिकेर केहि बेर यसको आवरणको लेउ निस्किउन्जेल सफा गर्नु पर्दछ। त्यसपछि सफा भाडामा राखे पछाडीको बिर्काे जस्तो ढाकिने आवरण काट्नु पर्दछ। त्यसपछि ४/५ पटक तातो पानीले सफा गर्नु पर्दछ। यसरी पखालेको घुंगीलाई निम्न तरिकाबाट पकाउनु पर्दछ।
घुंगी पकाउने विधि
– सानो आँचमा कराई बसाउने र तातेपछि ३ चम्चा तेल हाल्ने
– तेल मज्जाले तातेपछि मेथी फुराउने
– जब मेथी खैरो रंगको हुन्छ त्यसमा सुकेको खोर्सानीलाई भाँचेर पड्काउने
– खोर्सानी फ्राइ भएपछि काटिएको प्याज खैरो भएसम्म भुट्ने
– त्यसपछि अदुवा लसुनका पेष्ट हालेर केहि बेर भुट्ने
– पेष्ट पनि खैरो भएपछि बेसार हालेर त्यसमा चलाएर मिसाउने
– लगत्तै काटेको टमाटरलाई हालेर लेदोको आकारमा आउन्जेल भुट्ने
– त्यसमा जिरा र धनियाँको मसला हाल्ने र भुट्ने
– त्यसमा रातो खोर्सानीको धुलो हाल्ने र चलाएर मिलाउने
– अब यसमा गरम मसला हालेर विस्तारै चलाउने
– अब यसमा स्वाद अनुसार नुन हाल्ने र मसलामा मिलाउने
– त्यसपछि आलसको धुलो हालेर केहिबेर चलाउने
– यसरी मसलाको लेदो तयार हुन्छ अब यसमा तयारी अवस्थामा रहेको घुंगी मिसाउने
– घुंगी हालेपछि यसलाई मसलामा मिलाउन सबैतिरबाट चलाउने
– सानो आँचमा छोप्दै चलाउँदै १५ मिनेटसम्म घुंगीलाई मसलामा मिलाउने
– सबै घुंगीमा मसला मिलेपछि आवश्यकता अनुसार पानि हालेर १५ मिनेटसम्म छोप्दै चलाउने
– पाकिसकेपछि आगो निभाएर सानो पारेर काटेको धनियाँको पातलाई हाल्ने र छोप्ने
यसरी तयार भएको घुंगीलाई खाना, भुजा वा अन्य परिकारसंग खाएमा चिसो, रुघाखोकि वा थकान भाग्ने गर्दछ । यस अलवा घुंगीको सेवनले शरीरमा तागत दिने गर्दछ।
























