काठमाडौं । आइतबार बिहान दाङ हुँदै नेपाल प्रवेश गरेको सलहको झुण्ड १० जिल्लामा पुगेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ। आइतबार दाङबाट प्रवेश गरेको सलहको झुन्ड साँझ प्यूठान जिल्लाको माण्डवी गाउँपालिका, झिमरुक गाउँपालिका, प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाको आसपासका क्षेत्रमा आश्रय लिएको र सोमबार बिहान ७ बजेदेखि नै उक्त झुन्डहरु आकाशमा घुमिरहेको केन्द्रले जारी गरेको सलहसम्बन्धी विज्ञप्तिमा भनिएको छ।
‘सलह बालीनालीमा बस्न लागेको अवस्थामा कृषक तथा समुदायबाट विभिन्न अवरोधहरु सिर्जना गरी बस्न नदिएपछि उत्तर पश्चिमतर्फ लागेको सूचना प्राप्त भएको केन्द्रले जनाएको छ। त्यसैगरी आइतबार साँझ नपलपरासी जिल्लाको वेणी–त्रिवेणी गाउँपालिकाको भारततर्फको सिमावर्ती क्षेत्रमा पनि करिब ५ ७ हजारको संख्यामा रहेको सलहको झुन्ड प्रवेश गरेको र जंगलमा आश्रय लिई धानखेतमा आउने जाने गरेको सूचना प्राप्त भएको केन्द्रले जनाएको छ।
असार १३ देखि १६ सम्ममा विभिन्न जिल्ला हुँदै प्रवेश गरेका सलहका झुन्डमध्ये छरिएर गएका सलहहरु सानो संख्यामा अझै पनि बाग्लुङ, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोटलगायतका जिल्लाहरुमा देखिएको केन्द्रले जनाएको छ। भारतको सिमावर्ती क्षेत्रमा छरिएर रहेका सलहहरु केही संख्यामा अझै पनि दाङदेखि नवलपुरसम्मका क्षेत्रमा दक्षिण पश्चिमी वायुको सहारामा नेपालमा प्रवेश गर्ने सम्भावना रहेकाले विशेष गरी तराई क्षेत्र तथा तल्लो पहाडी क्षेत्रमा सजग रहन भनिएको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार सोमबार सुदूरपश्चिम प्रदेश र प्रदेश ५ दक्षिण पश्चिमी र अन्य भागमा दक्षिण पूर्वी वायुको प्रभाव रहेको र मंगलबार सुदूर पश्चिममा दक्षिण पूर्वी र अन्य स्थानमा पूर्वी वायूको प्रभाव रहेकाले ती स्थानबाट सलह नेपाल भित्रन सक्ने आंकलन गरिएको छ। भारतको लखनउको आसपासमा रहेको सलहको झुण्डबाट टुक्रिएर आएका केही सलहहरु पर्सा, धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रबाट नेपालभित्र प्रवेश गर्न सक्ने सम्भावना पनि रहेको छ।


























