असार २९ । नोबल कोरोना भाइरस ‘कोभिड १९’ का कारण हालसम्म विश्वभर एक करोड २८ लाख भन्दा बढी संक्रमित बनेका छन्।
कोरोना संक्रमण देखिएको ७ महिना भइसक्दा यस भाइरसको संक्रमणबाट पाँच लाख ५५ हजारको मृत्यु भइसकेको छ।
यसबीचमा रुसले आफ्ना वैज्ञानिकहरुले कोरोना भाइरसको पहिलो खोप बनाएको दाबी गरेको छ।
रुसी समाचार संस्था स्पुतनिकका अनुसार इन्स्टिच्युट फर ट्रान्सलेस्नल मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तरासोभले हालै संसारको पहिलो कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल सफलतापूर्वक पूरा भएको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘मस्कोस्थित सरकारी मेडिकल युनिभर्सिटी सेचेनोफले यो ट्रायल गरेको हो र यो भ्याक्सिन मानिसमा सुरक्षित देखिएको छ। जो व्यक्तिहरुमा भ्याक्सिनको प्रयोग गरिएको छ, उनीहरुको एक समूहलाई १५ जुलाई र दोस्रो समूहलाई २० जुलाईमा अस्पतालबाट घर जान दिइनेछ।’
युनिभर्सिटीले १८ जुनमा रुसको गेमली इन्स्टिच्युट अफ एपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीद्वारा निर्मित यो भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु गरेको जनाइएको छ।
सेचेनोफ युनिभिर्सिटीका एक अन्य वरिष्ठ अधिकारी एलेक्जेन्डर लुकासेभ भन्छन्,‘भ्याक्सिन ट्रायलको यो चरणको उद्देश्य भ्याक्सिन मानिसहरुका लागि सुरक्षित छ, छैन भनेर सुनिश्चित गर्नु थियो। ट्रायल सफलतापूर्वक पूरा भएको छ र यो सुरक्षित छ।’
लुकासेभका अनुसार भ्याक्सिनको व्यापक उत्पादनका लागि के कस्ता तयारी गर्नुपर्ने हो त्यसको रणनीति पनि तयार भइरहेको छ।
वादिम तरासोभले भनेका छन्, ‘महामारीका समयमा सेचेनोफ युनिभर्सिटीले एक शैक्षिक संस्थाको रुपमा मात्र नभएर वैज्ञानिक र प्राविधिक अनुसन्धान केन्द्रको रुपमा पनि काम गरेको छ। यो युनिभर्सिटी औषधिजस्तो महत्वपूर्ण र जटिल वस्तुको उत्पादनमा पनि सक्षम भएको छ।’
हालसम्म विश्वभर ७० लाख कोरोना संक्रमित पूर्ण रुपमा ठिक भएका छन्। यसलाई मध्यनजर गर्दै विश्वभरका वैज्ञानिक र स्वास्थ सेवासँग जोडिएका अन्य संस्थान कोरोनाविरुद्धको खोप चाँडो विकास गर्न जुटेका छन्।
अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ता गिलिएड साइन्सेज र अमेरिकी बायोटेक कम्पनी मोडेना कोरोना भ्याक्सिन विकास गर्न यतिबेला सबैभन्दा अगाडि छन्। बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा बनेको कोरोना भ्याक्सिनको सुरुवाती नतिजा अत्साहजनक छ।
यस्तै अमेरिका, चीन र भारतमा पनि कोरोनाविरुद्ध बनाइएको खोपको क्लिनिकल ट्रायल जारी छ। डब्लूएचओले रुसले बनाएको दाबी गरेको कोरोनाविरुद्धको पहिलो खोपको बारेमा कुनै टिप्पणी गरेको छैन।
डब्लूएचओको हालसम्मको जानकारीअनुसार हालसम्म २१ वटा कोरोनाविरुद्धको खोप मानवमा परीक्षण गरिएको छ र त्यसको नतिजा आउन बाँकी छ। बीबीसी हिन्दी र एजेन्सीको सहयोगमा


























