चितवन, असार २८ । पूर्वी चितवनको रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालमा पहिलोपटक पित्त थैलीको अपरेसन भएको छ।
३५ वर्षीया एक चेपाङ महिलाको सफल अपरेसन गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेले जानकारी दिए। सर्जन डा. दीपेन्द्र मल्लिक, डा. महेश पौडेल, डा. प्रदीप अधिकारी लगायतको टिमले अपरेसन गरेको डा. बगालेले जानकारी दिए।
अहिले बिरामीको अवस्था सामान्य छ। ‘हामीले पहिलोपटक पित्त थैलीको अप्रेसन गरेका छौं, अपरेसन कक्ष र पोष्टअप पहिल्यै तयार थिए,’ मेसु डा. बगालेले भने, ‘अब यसलाई निरन्तरता दिन्छौं, हामी समक्ष छौं भनेर प्रमाणित गरेका छौं।’
पेट दुख्यो भनेर सुरुमा भरतपुर अस्पतालमा पुगेकी ती महिलाको कोरोनाको कारण देखाउँदै अपरेसन पछाडि सारिएको थियो।
बकुलहर अस्पतालका मेसु डा. बगालेले अब पूर्वी चितवनका जनतालाई सामान्य उपचारका लागि भरतपुर जानैपर्ने बाध्यता अन्त्य गरिने बताए।
रत्ननगर नगरपालिका मातहत रहेको रत्ननगर बकुलहर अस्पताल हालै प्रदेश सरकारले आफू मातहत राखेको घोषणा गरेको थियो।
बकुलहर अस्पताल हाल १५ बेडको छ। अस्पताललाई अब कम्तीमा पनि पचास बेडको बनाइने मेसु डा. बगालेले बताए।


























