चितवन । प्याब्सन चितवन, संस्थागत विद्यालय अभिभावक संघ र संस्थागत विद्यालय शिक्षक युनियनबीच सहमति भएको छ। शुक्रबार बसेको त्रिपक्षीय बार्ताबाट शैक्षिक सत्र २०७६ सम्मको विद्यालयमा भुक्तानी गर्न बाँकी रकम विद्यालयमा भुक्तानी गरिदिन सम्पूर्ण अभिभावकहरुलाई अनुरोध गर्ने निर्णय भएको हो। अभिभावकहरुले समयमै भुक्तानी गरिदिए शिक्षक कर्मचारीहरुको सेवा सुविधासमेत तत्काल उपलब्ध गराउन सम्पूर्ण संस्थागत विद्यालयलाई आह्वान गर्ने निर्णय भएको संस्थागत विद्यालय शिक्षक युनियन चितवनका अध्यक्ष जनकराज घिमिरेले जानकारी दिए।
साथै सोही बैठकबाट शैक्षिक सत्र २०७७ मा सम्बन्धित विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई विद्यालयमा दर्ता गरी विद्यालयलाई आवश्यक सहयोग गरिदिन पनि आग्रह गरिएको छ। सोही बैठकबाट शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह, शैक्षिक प्रशासन महाशाखा तथा स्थानीय प्रशासनसँग पहल एवम् छलफल गर्न सरोकारवाला बीचका विषयलाई समेत आपसी सहमति र समझदारीका आधारमा समाधान गर्न कार्यदल गठन गरिएको प्याब्सन चितवनका अध्यक्ष टीकाराम चापागाईँले जानकारी दिए। लकडाउन जारीभएसँगै शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द भएपछि समयमै तलब सुविधा नपाएको भन्दै निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आन्दोलन गर्दै आएका थिए।


























