हेटौंडा । मकवानपुरको वागमती गाउँपालिकामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार वागमती गाउँपालिका वडा नं.१ बस्ने वर्ष ५८ का दावा छिरिङ लामाको मृत्यु भएको हो। माइली छोरीको घर रौतहटबाट वागमती गाउँपालिका वडा नं. ३ स्थित जेठी छोरीको घरमा आउने क्रममा गत १९ गतेदेखि बेपत्ता भएका लामाको मंगलबार बिहान करिब ९ बजे सोही गाउँपालिका वडा नं. ३ घट्टेडाँडा स्थित चिरुवाखोलको पानीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
उनका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय फापरबारीको टोली पुगेर आवश्यक कानुनी प्रकिया पुरा गरी शव परीक्षणको लागि हेटौंडा ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको छ। वर्षायाम सुरु भएसँगै मकवानपुरमा खोलाले बगाएर मृत्यु हुनेको संख्या बढ्दै छ। सोमबार पनि मकवानपुरको मनहरी गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो।


























