काठमाडौं, असार २२ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ। आज (सोमबार) बिहान ११ बजे बस्ने भनिएको बैठक दुई दिनपछि धकेलिएको हो।
असार २४ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। शक्ति संघर्षका कारण फुटको संघारमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटि बैठक तेस्रो पटक सारिएको हो।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहको शक्ति संघर्षले नेकपा लगभग विभाजनको विन्दुमा पुगेको देखिएको छ।
समस्या समाधानका लागि दुई अध्यक्षबिच अहिलेसम्म भएका वार्तामा कुनै सकारात्मक संकेत देखिएको छैन।
ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने प्रचण्ड–नेपाल समूहको माग तथा कुनै पनि पद नछोड्ने ओलीको अडानका कारण अहिलेसम्म सहमतिको सम्भावना देखिएको छैन। तर पार्टीका दोस्रो तहका नेताहरु सहमतिका लागि प्रयासरत रहेको बताउँछन्।
नेकपाका युवा नेताहरु पनि सोमबार पार्टी एकता जोगाइ राख्नका लागि आपसी छलफलमा जुट्दै छन्। घनश्याम भुषाल, योगेश भट्टराईसहितका नेताहरुले छलफल गर्ने भएका हुन्।
पार्टीको दोस्रो तह तथा नयाँ पुस्ताका नेताहरु एकता जोगाउने पक्षमा रहे पनि शीर्ष नेता विशेष गरी ओली र प्रचण्ड आफ्नो अडानमा टसमस नहुँदा नेकपा संकट लम्बिएको छ।
यसैबीच विवाद समाधानका लागि ओलीसँग छलफल गर्न दाहाल बालुवाटार पुगेका छन्।


























