हेटौंडा । हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा संस्थानका प्राध्यापक डा.ललितकुमार दासले काेराेना भाइरसविरुद्धकाे औषधि बनिसकेकाेले परीक्षणकाे तयारीमा रहेकाे दाबी गरेका छन्। परीक्षणको लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको निर्देशिका बमोजिम आवश्यक प्रतिवेदनको पर्खाइमा रहेको उनले बताए। उक्त प्रतिवेदनभित्रका मापदण्ड पूरा गर्न प्रक्रिया लामो भएकाेले केही समय लागेको डा.दासले बताए।
प्रतिवेदन कुरेर बसेकोले केही समय यो विषय ओझेल परेजस्तो देखिएकाे उनकाे भनाइ छ। प्रयोगशालामा कोरोना भाइरस हटाउने सम्बन्धी ‘एण्टी अक्सिडेण्ट एक्टिभिटी’ र ‘इन्जियोमेटिक एक्सन’ भएका बिरुवा लिएर त्यसमाथि आवश्यक शोध गरेर औषधि तयार पारेकाे डा दासकाे दाबी छ। उनले कोरोना विरुद्धको खोप र खोपबाट हुनसक्ने ‘एलर्जी’का लागिसमेत मुखबाट सेवन गर्न मिल्ने औषधि गरी दुबै औषधिको नमूना तयार भएको समेत दाबी गरेका छन्।
मानव शरीरको राेगप्रतिरोधात्मक क्षमता बढाउने औषधिको नमूना पनि तयार भइसकेको र यी सबै औषधिको परीक्षणको लागि प्रतीक्षामा रहेको उनले बताए। आफूले तयार गरेको औषधि शतप्रतिशत सफल हुनेमा आफू विश्वस्त रहेकाे उनले बताए। आफूले बनाएकाे औषधिकाे निरीक्षण गराएर बागमती प्रदेश सामाजिक विकास मन्त्री युवराज दुलाललाई प्रतिवेदन बुझाएर यसबारे थप सहयोग पुगेको उनकाे भनाइ छ। अहिले नमूनाको रुपमा औषधि तयार पारेकाे र परीक्षण सफल भएमा ठूलो परिमाणमा औषधि बनाउन सकिने डा दासले बताए।
विगत २२ वर्षदेखि अनुसन्धान तथा अध्यापन गर्दै आएका डा दासले बनारस हिन्दू विश्वविद्यालयबाट फाइटोकेमिस्ट्रीमा विद्यावारिधी गरेका हुन्। यसअघि जेठ २२ गते उनले सार्वजनिक गरेकाे कोरोना विरुद्धको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा विश्व स्वास्थ्य संगठनले जानकारी लिएको थियो। विश्व स्वास्थ्य संगठनको जेनेभास्थित कार्यालयबाटै भिडियो कोन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रसँग प्रत्यक्षरुपमा कोरोना विरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सम्बन्धमा छलफल गरेको डा.दासले बताए।
प्रयोगशालामा उत्पादन गरिएको औषधि सम्बन्धमा आवश्यक जानकारीका लागि संस्थानका प्रध्यापक दामोदर गैरेले डब्लुएचओमा लिखित प्रस्ताव पठाएकाे बताए। नेपालमा सम्बन्धित निकायसँग खोपको परीक्षण गराउनुपर्ने र नभए विश्व स्वास्थ्य संगठनसँग त्यसको प्रभावकारिता मुल्याङ्कनका लागि पहल गर्ने विषयमा कुराकानी भएको उनले बताए। खोपका लागि प्रयोजन स्वीकृत भएमा ‘ट्रायल फन्ड’ का लागि पाँच लाख अमेरिकी डलर प्राप्त हुने डा.दासले बताए। आफ्नो औषधिको विषयमा गरेकाे दाबी सफल हुनसक्ने विज्ञहरुको भनाइ छ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन आयुर्वेदिक क्याम्पसका प्राध्यापक डा.चन्द्रराज सापकोटाले आयुर्वेदिक पद्दतीबाट बनाइएको औषधि सफल हुनसक्ने बताए। ‘हामीसँग परीक्षण गर्ने प्रयोगशाला भइदिएको भए हामीले प्रयोग गर्दै आएका गुर्जो, पिप्ला, मरिच, सुठो, बेसार मिलाएर बनाएको औषधिले काम गर्छ भन्ने प्रमाणित भइसक्ने थियो,’ उनले भने, ‘तर प्रयोगशालाको अभावमा हामीसँग प्रसस्त सम्भावनाहरु भए पनि खुम्चिएर बस्नुपर्ने अवस्था छ।’


























