काठमाडौं, असार २१ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि सहमतिको प्रयास खोज्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रो वरियताका नेतालाई जिम्मा लगाएका छन्।
औपचारिक कार्यदल गठन नगरी सहमतिको खाका बनाउन नेताहरुलाई जिम्मेवारी दिइएको नेकपा स्रोतले बतायो।
अध्यक्ष ओली र प्रचण्डबीच आइतवार भएको बैठकमा सहभागी सहयोगी नेताहरुलाई सहमतिको खाका ल्याउन निर्देशन दिइएको हो। ‘कार्यदल बनेको होइन, सहमतिको खाका ल्याउन नेताहरुलाई आग्रह गरिएको हो,’ स्रोतले भन्यो।
सोमवार बस्ने दुई अध्यक्षको बैठकअघि महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोरलेल तथा जनार्दन शर्मा र वर्षमान पुनले छलफल गरेर सहमतिको खाका ल्याउने छन्। सोमवार बस्ने स्थायी कमिटी बैठक अघि ओली र प्रचण्डबीच पुनः छलफल गर्ने सहमति भएको छ।
दुई अध्यक्षको वार्तामा सहभागि जनार्दन शर्माले आजको बैठक सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।
शुक्रवारको बैठकमा प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्नेगरी २०७५ जेठ २ गते भएको सहमतिमा फर्किन प्रस्ताव गरेका थिए भने ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने २०७६ मंसिरको प्रस्तावलाई थप व्याख्या गरेर जान प्रस्ताव गरेका थिए।


























