काठमाडौं, असार १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई बालुवाटारमा बोलाएर परामर्श गरेका छन्।
स्थायी कमिटीको जारी बैठक चौथो दिनमा पुग्दा पार्टीभित्रको सङ्कट गहिरिँदै गएपछि र राजीनामा माग्ने तहसम्म पुगेपछि प्रधानमन्त्रीले केही मन्त्री, मुख्यमन्त्री र आफूनिकट नेताहरूलाई बोलाएर छलफल गरेका हुन्।
“प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो। पार्टीको सङ्कटको साक्षी त हामी पनि छौं। तर, उहाँले कसरी अगाडि बढ्दा हुन्छ। सङ्कटको हल के हो ? व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर छलफल गर्न बोलाउनुभएको रहेछ,” छलफलपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने।
प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा पार्टीभित्र गम्भीर समस्या रहेको प्रतीत हुने भट्टराईले भने। “छलफलका क्रममा मैले प्रधानमन्त्रीलाई सङ्कट समाधान गर्ने ऐतिहासिक अवसर आएको छ। सङ्कटमै नेतृत्वको पहिचान र परीक्षण हुने भएकाले सुझबुझपूर्ण ढङ्गले अघि बढ्न सुझाव दिएँ,” भट्टराईले भने, “देशले दिएको अभिभारा पार्टीले पूरा गर्नुपर्छ।”
उनले अहिलको अवस्थामा पार्टीको एकतालाई बचाउनु र मजबुत बनाउनुको विकल्प नरहेको अधिकांश सहभागीको मत थियो।
“नेताहरूको बीचमा विश्वास धमिल्लिएको रहेछ। कति हदसम्म सङ्कट पनि होला। एकआपसका शङ्का, अविश्वास, मनमुटाव खुला खुलस्त छलफल गर्नुपर्यो। प्रधानमन्त्रीले पनि उदारता देखाउनुपर्यो,” भट्टराईले छलफलका क्रममा उठेका कुरा उद्धृत गरे, “एक अर्कालाई आरोपित गरेर, तिक्तता बढाएर हल हुँदैन। यो सस्या समाधान गर्ने दायित्व नेकपाकै हो। कुनै विदेशीले आएर समाधान खोजिदिने, अरू पार्टीले पहलकदमी लिइदिने कुरा होइन।”
अहिलेको समस्या, सङ्कट व्यवस्थापनको मुख्य भूमिका प्रधानमन्त्री कै भएकाले वृहत–विहङ्गम छलफल नै अहिलेको निकास भएको मन्त्रीहरूले बताएका थिए।
“नेताहरूको मन कतै भाँच्चिएको छ कि, कतै दुखेको छ कि, ठेस पुर्याइएको छ कि तपाईंहरू बसेर समाधान खोज्नुस् भनेर मैले पनि सुझाव दिएँ। त्यसमा प्रधानमन्त्रीको जवाफ सकारात्मक थियो,” भट्टराईले भने, “प्रधानमन्त्रीलाई मैले थप तपाईंका बाध्यता, जटिलता के–के छन्, खुला खुलस्त बैठकमा राख्नुस्, जानकारी गराउनुस् भनेर पनि भनेँ। अरूले पनि त्यसैमा जोड दिनुभएको थियो।”
पार्टीमा प्रोक्सी वार गरेर, झैझगडा बढाएर हल नहुने भन्दै दर्बिलो एकताबाहेक अहिलेको चुनौती व्यवस्थापनको कुनै बनिबनाउ सूत्र नभएको भट्टराईको तर्क थियो।
प्रधानमन्त्रीसँगको छलफलमा पार्टी कमिटीको बैठक असभ्य हुँदै गएको विचार, धारणा राख्दा पनि कम्युनिस्ट संस्कृतिको साँधसीमा मिचिएको भन्दै सहभागीहरूले चिन्ता प्रकट गरेका थिए।
“पार्टीभित्रको यही प्रणाली स्थापित भएर जाने हो भने आउने पुस्ताले के सिक्ने ? अहिले मुलुकले के सिक्ने भनेर पनि प्रश्न उठेको थियो,” भट्टराईले भने।
अहिलेको छलफललाई सुसंस्कृत, मर्यादित बनाउनुपर्नेमा सदस्यहरूले जोड दिएका थिए।
अन्तिममा प्रधानमन्त्रीले सबैसँग राय–सुझाव लिएर समस्या समाधान गर्ने भन्दै आश्वस्त पारेका थिए। भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले आफूनिकट स्थायी कमिटीसँग पनि परामर्श गर्दैछन्।


























