काठमाडौं, असार १७ । प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन्। उनले राजनीतिक परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बिहान ८ बजे बालुवाटार बोलाएका हुन्।
मंगलवार स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएको थियो। बैठकमा शीर्ष नेतासहित १७ जनाले ओलीको राजीनामा माग गरेका थिए।
ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि बुधवार (आज) ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई छलफलमा डाकेका हुन्।
प्रधानमन्त्री ओलीले साढे २ वर्षदेखि सरकारको नेतृत्व गरिरहेका छन्। ओलीलाई स्वेच्छाचारी ढंगले अगाडि बढेको भन्दै शीर्ष नेताहरुले राजीनामा माग गरेका थिए।
मंगलबारको स्थायी कमिटी बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले स्थायी कमिटीमा ओलीको राजीनामा मागेका थिए।


























