साउदी अरेबिया, असार १४ । साउदी अरेबियामा अवैध रूपमा कार्यरत अकामा नवीकरण नगरेका १ सय ३५ जना नेपालीका लागि साउदी सरकारले बहिर्गमन भिषा जारी गरेको छ। साउदीमा रोकिएका उनीहरू अब स्वदेश फिर्ता हुने भएका छन्।
दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाका अनुसार बहिगर्मन भिषा फारम भर्नेको संख्या २६ सयभन्दा बढी छ। दुतावास रियादले बहिगर्मन भिषा पाउने नेपालीको नामावली आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको छ। बाँकी बहिर्गमन भिषाको लागि आवश्यक कार्य भइरहेको जानकारीसमेत गराएको छ।
बहिर्गमन भिषा पाउनेले भिषा जारी मितिले ६० दिनभित्र साउदी अरेबिया छोडिसक्नुपर्ने छ।
साउदी अरेबियामा कानुनी रूपमा लगभग ३ लाख १५ हजार नेपाली कार्यरत छन। कोरोना भाइरसका कारण अलपत्र परेका नेपाली हिमाल एरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानबाट स्वदेश फिर्ता हुने क्रम बढ्दो छ। हालसम्म १२ सय १७ जना स्वदेश फिर्ता भएका छन् भने कामको क्रममा मृत्यु भएका १८ जनाको शवसमेत नेपाल पठाइएको छ।
साउदी सरकारले पूर्ण रुपमा कर्फ्यु हटाए पनि संक्रमितको संख्या १ लाख ७८ हजार ५ सय ४ पुग्नुको साथै १ लाख २२ हजार १ सय ७८ निको भएका छन्। १५ सय ४१ जनाको मृत्यु भएको छ। पछिल्लोपटक नेपाली दुतावासले साउदीमा कार्यरत नेपालीमध्ये कोरोना भाइरसबाट १३ सय ६४ जना संक्रमित हुनुको साथै ७ को मृत्यु भएको जानकारी गराएको थियो।























