काठमाडौं, असार ९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद बेदुराम भुसालले के नेपाल भारतको चंगुलमा बस्नुपर्छ भन्दै प्रश्न गरेका छन्।
राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा नेकपा सांसद वेदुराम भुसालले अंगीकृत नागरिकतासम्बन्धी नयाँ व्यवस्थाले राजनीतिक दुर्घटना हुने प्रमुख विपक्षी नेपाली कांग्रेसको चेतावनीको प्रतिवाद गर्दै यो निर्णय नेपालले स्वतन्त्र रुपले गरेको बताए।
उनले भने, ‘चीनसँगको हरेक बहसलाई नकारात्मक हेर्ने गरिएको छ। कोदारी राजमार्ग बन्दै गर्दा पनि यही कुरा उठाइएको थियो। नेपालमा नाकाबन्दी गर्दा पनि त्यही कुरा उठाइएको हो। आज पनि नेपाललाई त्यतैतिर लैजान खोजिएको हो।’
नेता भुसालले भने, ‘के नेपाल सँधै भारतको चंगुलमा बस्नुपर्छ ? त्यसो होइन भने नेपालले स्वतन्त्र ढंगले निर्णय गर्दा भारतबाट टाढा भएको किन भनिन्छ ? किन चीनतिर ढल्कियो भनिन्छ ?’
यो कानुन बनाउँदा मुठभेड गर्नुपर्ने कुनै कारण नभएको नेकपा सांसद भुसालले बताए। ‘के भारतसँग जोडिएन ? भारतको छोटे भाइ भएन भनेर मुठभेड गराउन खोज्दै हुनुहुन्छ ? त्यसमा पनि नेपाली हुँ भन्नेहरु नै मुठभेड गराउँछौं, आगो लगाउँछौं भन्नुको कारण मैले बुझेको छैन,’ उनले भने।
भारतमा पनि भारतीय नागरिकसँग बिहे गरेको ७ वर्षपछि मात्र नागरिकताका लागि आवेदन दिने व्यवस्था रहेको र अरु देशमा पनि त्यस्तै व्यवस्था रहेको भन्दै नेकपा सांसद भुसालले यसको विरोध गर्नुको कुनै तुक नभएको बताए।
कांग्रेसले राजनीतिक अभिष्टका लागि मात्र नयाँ व्यवस्थाको विरोध गरेको उनको दाबी छ। आइतबारको बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्ष नेपालमा स्थायी बसोबास गरेपछि अंगीकृत नागरिकता दिने प्रस्तावको विरोध गरेका थिए। नेकपाले नेपाललाई चीनको झोलीमा लैजान खोजेको र यसले राजनीतिक दुर्घटना हुने उनको चेतावनी थियो।
तर नेकपा सांसद भुसालले कांग्रेस सांसद देवको नाम नलिइकनै मंगलबारको बैठकमा उनको दाबीको खण्डन गरेका छन्।


























